खेल

खेलमा अब्बल कमल थापा, पोखरा ओपन तथा भेट्रान्स टेनिसमा दोहोरो उपाधि

पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी २२ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले दोहोरो उपाधि जितेका छन् ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका थापाले  ६५ वर्ष उमेर समूह माथिको एकल र ‘डबल्स’तर्फ उपाधि जितेका हुन् । ‘सिङ्गल्स’ फाइनलमा उनले पोखराका पदम गुरुङलाई ४–२, ४–२ ले पराजित गरे ।  ‘डबल्स’तर्फ चाम्बा धोन्धुपसँग जोडी बनाएका थापाले विदुर विष्ट र ध्रुव गुरुङको जोडीलाई फाइनलमा ४–०, ४–१ को सेटमा पराजित गरी उपाधि हात पारेका हुन् । थापा पोखरामा हुने यस प्रतियोगिताको हरेक संस्करणमा नियमित रुपमा सहभागी हुँदै आएका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ‘मेन्स डबल्स’ फाइनलमा नेपाल नं १ प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडीले निहाल जङ्गबहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ ले पराजित गरी च्याम्पियन बनेका छन् ।  

महिला खुलातर्फ सिवाली गुरुङले प्रशंसा मोक्तानलाई ६–०, ६–० ले सेमिफाइनलमा पराजित गर्दै सुनिरा थापासँग फाइनल भिडन्त पक्का गरिन् । सुनिराले प्रकृति श्रेष्ठलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरिन् ।  

यसैगरी ५५ वर्षमाथिको समूहमा उत्तमकुमार शेर्पा र दीपेन्द्र प्रधानको जोडीले उपाधि जितेको छ । विमल गुरुङ र हिमाल शाहको जोडीलाई उनीहरुको जोडीले पहिलो र दोस्रो सेटमा ६–४, १–६ को बराबरीमा सकिएसँगै सुपर टाइमा पुगेको खेलमा उत्तम र दीपेन्द्रको जोडीले १०–८ ले जित हात पार्न सफल भएका हुन् ।

त्यसैगरी ३५ वर्षमाथिको इभेन्ट फाइनलमा जीतेन्द्र प्रधान र कुमार अधिकारीको जोडीले फाइनलमा सन्तोष खत्री र भीष्म जङ्ग गुरुङको जोडीलाई ६–४, ६–२ ले पराजित गरी च्याम्पियन भएका छन् । विजेता दुवै पूर्वनेपाल नं १ खेलाडी हुन् ।

यसैगरी ४५ वर्षमाथिको फाइनलमा देव क्षेत्री र हिमाल शाहको जोडीले फाइनलमा ७–६, ६–२ ले लेसारी गुरुङ र आशिष सिग्देलको जोडीलाई पराजित गर्दै उपाधि जिते ।

‘ओपन मेन्स सिंगल्स’मा नेपाल नं १ प्रदिप खड्का, आयुष्मान हजुर घले, करनबहादुर थापा, राजविर प्रधानले सेमीफाइनलको यात्रा तय गरे ।  क्वाटरफाइनलमा प्रदीपले प्रितम परियारलाई ६–१, ६–२ ले, आयुष्मानले निहाल जङ्गबहादुर थापालाई ६–२, ६–३ ले, करनले दर्शिल श्रेष्ठलाई ६–२, ६–२ ले, राजविरले युगेन शेर्पालाई ६–२, ६–१ ले पराजित गरेका हुन् ।  

 

प्रकाशित: १४ पुस २०८२ २०:३३ सोमबार