कमल ऐरीको घातक बलिङसामु विराटनगर किंग्सको नाटकीय ब्याटिङ पतन भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले ८ रनको रोमाञ्चक जित हात पारेको छ।
जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक समय १५.४ ओभरमा १३२/४ को बलियो स्थितिमा जिततर्फ लम्किरहेको विराटनगरले अन्तिम ६ विकेट मात्र १७ रन जोड्दा गुमाउन पुग्यो। आन्द्रे रसेल आउट भएपछि विराटनगरको इनिङ्स तासको घरझैँ ढल्न पुगेको थियो।
चितवनको जितमा तीव्र गतिका बलर कमल ऐरी नायक बने। उनले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। कमलले खेल पल्टाउने क्रममा विष्फोटक ब्याटिङ गरिरहेका आन्द्रे रसेल (३३), बसिर अहमद (१३), एन्जेलो म्याथ्युज (१४) र रुपेश सिंह (०) लाई पेभेलियनको बाटो देखाए।
यस्तै, रिजन ढकालले १९औं ओभरमा उत्कृष्ट बलिङ गर्दै प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेलाई शून्य रनमै आउट गरी २ विकेट चट्काए। टम टेलर, रञ्जित कुमार, ड्यान मौस्ले र मौसम ढकालले १-१ विकेट हात पारे।
विराटनगरका लागि ओपनर इमरान शेखले ३१ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए। यस्तै, आन्द्रे रसेलले १७ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३३ तथा ओपनर लोकेश बमले १४ बलमा ४ चौका र १ छक्कासहित २६ रनको आक्रामक पारी खेले।
मध्यक्रममा एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३, सुभम रञ्जानेले १० र चरिथ असालंकाले ८ रन बनाए। तल्लो क्रमका रुपेश सिंह, प्रतिश जिसी र कप्तान सन्दीप लामिछाने शून्य रनमै आउट भएपछि विराटनगर जितको नजिक पुगेर पनि स्तब्ध हुन पुग्यो। नरेन साउद २ रनमा अविजित रहे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका लागि ओपनर डेविड मलानले ५० बलमा ५ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। कप्तान रवि बोपाराले अविजित ३२ र ड्यान मौस्लेले अविजित २९ रन जोडेका थिए।
विराटनगरका लागि बलिङमा एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले १-१ विकेट लिएका थिए।
प्रकाशित: १० कार्तिक २०८३ १६:२० मंगलबार