खेल

कबड्डी खेलाडीले आवास नपाउँदा खेल प्रभावित

लामो समय पर्खाइसम्म विभिन्न देशका खेलाडीले आवास नपाउँदा २०औं एसियाली खेलकुदको आयोजकमाथि धेरै आलोचना भएको छ। खेलाडी भिलेजबिनै जापानले अस्थायी आवास व्यवस्थापनमा एसियाली खेलकुद आयोजना गरिरहेको छ। 

जहाँ कन्टेनर (खेलाडी आवास) संरचनाको भुइँमा नै खेलाडी सुतेका तस्बिर सार्वजनिक भइरहेका छन्। लामो हवाई यात्रापछि घन्टौंसम्म भुइँमा सुत्नुको पीडाले भरिएका तस्बिर थिए ती। जुन नेपाली पुरुष कबड्डी खेलाडीले पनि सामना गर्नुपर्‍यो। जसको असर नेपाली पुरुष कबड्डी टोलीको थाइल्यान्डसँग पहिलो खेलमा पर्‍यो। उनीहरूले आशातीत प्रदर्शन गर्न सकेनन्।

थाइल्यान्डसँगको खेलबाट नेपाली कबड्डी टोलीले हारको सुरुआत गरेको छ। जुन हारका कारण नेपालले ठूलो मूल्य चुकाउनु पर्न सक्छ। दुई दिनअघि मात्र टोली जापान आइपुगेको हो। उनीहरूले पनि अन्य देशले जस्तै समयमा आवास पाएनन्। ‘दिउँसो दुई बजे आयोजक राष्ट्र आइपुगेका थियौं। राति ८/९ बजे मात्र खेलाडीले सुत्न पाए। उनीहरू सुत्दा ११ बजेको थियो। उनीहरू थाकेका थिए। उनीहरूमा त्यो रिकभरी नभएजस्तो लाग्यो। खेलाडीले आज शतप्रतिशत दिन नै सकेनन्,’ नेपाली कबड्डी टोलीका प्रशिक्षक विष्णु भट्टले भने। 

तर, प्रशिक्षक भट्टले यो हारको कारण त्यसलाई मात्र दिएनन्। खेलाडीले पनि डिफेन्समा राम्रो गर्न नसकेको उल्लेख गरे। समान स्तरको टोलीसँग डिफेन्स कमजोर गर्दा त्यसको मूल्य चुकाउनुपरेको पनि उनको भनाइ छ। तर हारका कारणमध्ये एक समयमा आवास व्यवस्था नहुनु पनि रहेको उनले औंल्याए। जुन एसियाली खेलकुदमा सहभागी अन्य राष्ट्रका खेलाडीले पनि यस्तै पीडा पोख्दै आएका छन्। थकानकै बिच मैदानमा उत्रिँदा नेपाली पुरुष कबड्डी टोलीले पनि हारबाट यात्रा सुरु भएको छ। पदकको आशा गरिएको नेपाली खेलमध्ये एक पुरुष कबड्डी टोली पनि हो। जहाँ यो हारले बलियो इरान रहेको समूहबाट नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुन सक्नेछ। पाँच राष्ट्र सम्मिलित यो समूहमा अहिले नै यही नतिजा आउँछ भन्नु जायज नहोला। सोमबार समूह ‘बी’ को पहिलो खेलमा थाइल्यान्डसँग ५९-४८ अंकको पराजय नेपालका लागि सहज हुने छैन।

कम्तीमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुग्ने नेपालको लक्ष्यमा तगारो बन्न सक्छ। यही समूहको पाकिस्तानले भने सोमबार मलेसियालाई ६५-२२ ले हराउँदै नेपाललाई चुनौती थपिदिएको छ। दोस्रो खेलमा नेपाल र पाकिस्तानबिच प्रतिस्पर्धा हुनेछ। तर, यो खेल जित्दै सेमिफाइनल सम्भावना जीवन्त राख्ने प्रशिक्षक भट्टको विश्वास छ। नागोया सहरस्थित तोकाइ सिटिजन जिम्न्याजियममा नेपाली खेलाडीले पहिलो हाफमा थाइल्यान्डलाई कडा चुनौती दिए। यद्यपि, यो हाफमा नेपाल पछि पर्‍यो। दोस्रो हाफमा पनि नेपालले पुनरागमन गर्न सकेन। पहिलो हाफ सकिँदा नेपाल २४-२८ ले चार अंकले मात्र पछि थियो। दोस्रो हाफमा थाइल्यान्डले आफ्नो आक्रामकता थप बढाउँदै नेपाललाई दबाबमा राख्यो। जहाँ थाइल्यान्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो।

यससँगै पदकको आशा गरिएको नेपालको पुरुष कबड्डीले पनि हारबाट सुरुआत गर्‍यो। नेपालले २९ रेड अंक, १८ बोनस र एक सुपर ट्याकल अंक प्राप्त गरेको थियो। थाइल्यान्डले ९ बोनस, ६ अलआउट र एक सुपर ट्याकल अंक जोड्यो। अलआउटबाट नेपालले कुनै अंक प्राप्त गर्न सकेन। जहाँ थाइल्यान्डले ११ अंकको अन्तरले खेल आफ्नो पक्षमा पार्‍यो। नेपालका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले छोटो तयारीले प्रदर्शनमा त्यति प्रभावकारी पनि हुन नसकेको उल्लेख गरे। ‘आज हामीले डिफेन्समा पनि राम्रो गर्न सकेनौं। डिफेन्स कमजोर हुँदा टिमको प्रदर्शनमा असर पर्‍यो। तर, अफेन्समा राम्रो गरेका थियौं,’ प्रशिक्षक भट्टले भने। भट्टका अनुसार नेपाली टोलीले एसियाली खेलकुदका लागि दुई महिनादेखि मात्र तयारी गरेको थियो।

‘यो टिमले दुई महिनादेखि तयारी गरेको हो। यो स्तरको प्रतियोगिता खेल्न यो तयारी पर्याप्त थिएन,’ उनले भने,‘मिसन २०२६ मा रहेका दुई जना खेलाडी मात्र यो टोलीमा छन्। पाकिस्तानसँग राम्रो गर्छौं भन्ने विश्वास छ। डिफेन्समा राम्रो गर्‍यौं भने जित्छौं। समूहमा पुनरागमन गर्छौं। थाइल्यान्डलाई पाकिस्तानले जित्यो भने दोस्रो चरणमा पुग्ने सम्भावना हुनेछ। पाकिस्तानसँग ९ बजे खेल्छौं।’ साथै उनले थाइल्यान्डको खेलप्रति पनि प्रशंसा गरे। ‘थाइल्यान्ड अफेन्स र डिफेन्समा राम्रो थियो। एउटा बलियो टिमको रूपमा उसले खेल्यो। नेपालको डिफेन्सलाई चुनौती दियो। उनीहरूले १४ महिनादेखि तयारी गरेका थिए। त्यो आज मैदानमा देखाएको हो,’उनले भने। नेपालको थकानको कारण मैदानको प्रदर्शनमा मात्र सीमित थिएन। यही खेलसँगै जोडिएको एउटा प्रश्न भने खेलाडीको आवास व्यवस्थापन आयोजक चुकेको प्रस्ट हुन्छ। 

त्यसबारे सहभागी राष्ट्रका धेरै खेलाडी तथा पदाधिकारीले पनि खुलेरै आलोचना गरिरहेका छन्। खर्च कटौती गर्ने उद्देश्यले आयोजकले गरेको यो खराब व्यवस्थापन छताछुल्ल भइरहेको छ। क्रुज जहाज, अस्थायी काठका क्याबिन र होटललाई खेलाडी तथा पदाधिकारीको आवासका रूपमा प्रयोग गरिरहेको छ। अस्थायी र मितव्ययी आवासका कारण खेलाडीहरूले असहजता भोग्नुपरेको छ। जुन एसियाली खेलकुदको प्रतिस्पर्धा सुरु हुनुअघि नै सार्वजनिक भएका थिए। दक्षिण कोरियाका बास्केटबल खेलाडीले समेत एसियाली खेलकुदको होटल व्यवस्थापनप्रति असन्तुष्टि जनाएका थिए। अहिले पनि त्यो अवस्था जारी छ। 

यो अवस्था आउनुको पछाडि अन्तिम समयमा सहभागिता संख्या बढाइनुले पनि सिर्जना भएको हो। सुरुमा करिब १५ हजार खेलाडी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो। तर, नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकको दाबी छ।

एसियाली खेलकुदमा मिश्रित मार्सल आर्ट्स, प्याडेल र सर्फिङजस्ता नयाँ खेल समावेश गरिएका छन्। भर्चुअल तेक्वान्दो र टेकबल पनि पहिलोपटक समावेश गरिएको खेल हो। खेलको संख्या र सहभागी बढेसँगै आवास व्यवस्थापन आयोजकका लागि चुनौती बन्न पुग्यो। उद्घाटनअघि मुख्य आयोजक तथा आइची प्रिफेक्चरका गभर्नर हिदेआकी ओमुराले खेलाडीलाई सहज र आरामदायी वातावरण सुनिश्चित गर्न प्रयास भइरहेको बताएका थिए। 

सान्सौं र थाउलोमा पनि खराब नतिजा
जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत उसुको सान्सौं र थाउलोमा नेपालले सोमबार पनि खराब नतिजा सामना गरेको छ।

आइची प्रेफेक्चर मार्सल आर्ट्स हलमा सोमबार भएको खेलमा नेपालका सान्सौं र थाउलो विधाका खेलाडी जित निकाल्न सकेनन्। महिला छाङ्छ्वानमा नेपालकी सुस्मिता तामाङ ९.५८० अंक सहित १३औं स्थानमा रहिन्। उनको विधामा हङकङ ९.७१३ अंक सहित प्रथम भएको छ। सान्सौंतर्फ ६० केजी तौलसमूहमा रिता ठकुल्ला पराजित भइन्।

उनी तुर्किमिन्स्तानकी खेलाडी जोराएभा मेर्जेनसँग २-० अंकले स्तब्ध भइन्। बक्सिङमा पुरुष ७० केजी तौलसमूहमा दानबहादुर दर्लामी पनि पराजित हुन पुगे। उनी इराकका खेलाडी वासी कसिम हामदानसँग ५-० अंकमा पराजित भए। पुरुषमा ५६ केजी तौलसमूहमा रोहित चुनारा चीनका ओयु जिमिङसँग र पुरुष ६५ केजीमा अमर सुनार चीनका वाङ चिनजिङसँग पहिलो राउन्डमा नै पराजित भए।

पदकको प्रतिस्पर्धाबाट बाहिरिएको महिला भलिबलमा पनि नेपाली टोली पराजित हुन पुग्यो। र्‍याङकिङका लागि भएको खेलमा नेपाल हङकङसँग सोझो सेटमा पराजित भएको हो। नवौंदेखि १२औं स्थानका लागि भएको खेलमा हङकङसँग २५-२०, २५-१९ र २८-२६ को सेटमा पराजित भएको हो। अब ११ देखि १२औं स्थानका लागि नेपालले मंगलबार मंगोलियासँग खेल्नेछ। करातेमा पनि नेपालले हारको शृंखला जारी राखेको छ। महिला ६८ केजीमुनिको क्वाटरफाईनलमा निरूपा दोङ तामाङ हङकङकी वाङ चुक्लीसँग ३-० को अंकमा पराजित भइन्। 

प्रकाशित: ६ आश्विन २०८३ ०७:०१ मंगलबार