खेल

जुम्ला रारा–अल्ट्रा म्याराथनको उपाधि बूढालाई

सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बूढाले प्राप्त गरेका छन्। 

शनिबार सम्पन्न प्रतियोगितामा जुम्लादेखि मुगुको रारातालसम्म ५४ किलोमिटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का बूढा पहिलो भए।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका होमबहादुर हमाल दोस्रो र गोपाल तामाङ तेस्रो भएका कर्णाली स्पोटर्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए। महिलातर्फको दौडमा पातारासी गाउँपालिका कल्पना बूढा पहिलो भइन्। साथै सुनसरी रोकाया दोस्रो र सन्ध्या बूढा तेस्रो भइन्।

पहिलो हुने धावकलाई रु एक लाख, दोस्रो हुनेलाई रु ७५ हजार, तेस्रो हुनेलाई रु ५० हजार, चौथो र पाँचौलाई समान रु २०–२० हजार पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिने क्लबले जनाएको छ।

प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना तथा स्थानीय खेल प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वैशाखमा आयोजना गर्दै आएको अध्यक्ष शाहीले बताए।

त्यसैगरी १० किलोमिटर दौडको पुरुषतर्फ वसन्त बूढा पहिलो, नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो भए। दश किलोमिटर महिलातर्फ सपना बूढा पहिलो, सस्मिता भण्डारी दोस्रो र गौकली रावत तेस्रो भइन्।

पाँच किलोमिटरको विद्यार्थीतर्फ निर्भु राना पहिलो, नरेश रावत दोस्रो र नमराज महतारा तेस्रो भए। साथै पाँच किलोमिटर महिलातर्पm क्रितिना बूढा पहिलो, यमुना बूढा दोस्रो र खुसी बुढाथोकी मगर तेस्रो भइन्।

प्रतियोगितामा स्वदेश तथा विदेशी गरी ५१ धावकहरूले ५४ किमी दौडमा सहभागिता जनाएका थिए। पाँच र १० किलोमिटरको दौडमा करिब एक हजार एक सय जना खेलाडी सहभागी भएको क्लबले जनाएको छ।

पाँच र १० किलोमिटतर्फका विजेता खेलाडीलाई प्रमाणपत्र र पदक प्रदान गरियो भने ५४ किमीको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताका विजेता धावकलाई आइतबार राराताल परिसरमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिए। 

प्रकाशित: २६ वैशाख २०८३ १८:४७ शनिबार