खेल

एसियाली खेलकुद: पहिलो चरणमै रोकिए जुडो खेलाडी

पदकको आशा बोकेर जापान पुगेको नेपाली जुडोका चार खेलाडीका लागि २०औं एसियाली खेलकुदको म्याट फेरि कठोर साबित भएको छ। झन्डै तीन वर्षको तयारीपछि एसियाली खेलकुदमा उत्रिएको नेपालका चारै खेलाडी (विकास विक, विशेष विक, निशा श्रेष्ठ र देवकीमाया श्रेष्ठ) पहिलो चरणमै रोकिए।

जुडोले अहिलेसम्म यो प्रतियोगितामा नेपाललाई पदक दिलाउन सकेको छैन। तर यसपल्ट भने सुखद नतिजा आउने अपेक्षा थियो। तथापि यो पदक जित्न पर्याप्त आधार भने थिएन। लामो प्रशिक्षण गरे पनि उनीहरूमा म्याच एक्सपोजरमा भने कमी थियो। तथापि महत्त्वाकांक्षी आशा भने जुडो खेलाडीबाट नेपाली खेलकुदले राखेको थियो। अन्ततः नतिजा आशा गरेअनुरूप आएन। चार खेलाडीबाट पदक जित्ने आशा फेरि अधुरै रह्यो। नागोयास्थित आइची इन्टरनेसनल एरिनामा बुधबार नेपालका विकास, विशेष, निशा र देवकीमायाले प्रतिस्पर्धा गरेका थिए। तर चारै खेलाडीले आआफ्नो तौलसमूहमा पहिलो चरण पार गर्न सकेनन्।

लामो समयको तयारी, घरेलु अभ्यास र मिसन २०२६ को लक्ष्यका बावजुद अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभवको कमी नेपाली खेलाडीको प्रदर्शनमा स्पष्ट देखियो। खेलाडीले लामो समय तयारी गरेका थिए। प्रशिक्षणमा समय बिताएका थिए तर प्रतियोगितामा नियमित अन्तर्राष्ट्रिय खेलाडीको सामना गर्ने अवसरमा भने कमी। त्यसैले तयारीको वास्तविक स्तर ठूलो मञ्चमा परीक्षण हुन सकेको थिएन। नागोयाको म्याटले त्यही कमजोरी उजागर गरिदियो। यसपटक नेपाली जुडो टोलीको सहभागिता अर्को कारणले पनि विशेष थियो। एउटै परिवारका दुई दाजुभाइ र दुई दिदीबहिनीले एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरे। विकास र विशेष विक दाजुभाइ हुन् भने देवकीमाया र निशा श्रेष्ठ दिदीबहिनी।  

एउटै एसियाडमा एउटै परिवारका चार खेलाडीले प्रतिस्पर्धा गर्नु नेपाली खेलकुदका लागि दुर्लभ संयोग हो। तर इतिहास बनेको दिन नतिजाले भने उनीहरूलाई साथ दिएन। चार खेलाडीमध्ये देवकीमाया सबैभन्दा अनुभवी थिइन्। चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन्। त्यसैले महिला ५२ केजी तौलसमूहमा उनीबाट केही राम्रो प्रदर्शनको अपेक्षा गरिएको थियो। अनुभवअनुसार उनले अन्तिम क्षणसम्म संघर्ष गरिन् तर भियतनामकी लाम थी एनगान हासँग युकोका आधारमा पराजित भइन्। चार मिनेटको निर्धारित समय सकिन २० सेकेन्ड मात्र बाँकी हुँदा देवकीमायाले युको सामना गर्नुपर्‍यो। त्यसअघि दुवै खेलाडीले सिदो (पहेंलो) कार्डसमेत पाएका थिए।

खेलको अन्तिमसम्म चुनौती प्रस्तुत गरेकी देवकीमाया काउन्टर अट्याकमा सफल हुन नसक्दा हार बेहोर्न बाध्य भइन्। यो हारसँगै देवकीमाया लगातार दोस्रो एसियाली खेलकुदमा पदकविहीन हुने भएकी छन्। ‘अन्तिम समयसम्म देवकीले मिहिनेत गरिन्। काउन्टरमा जाँदा उनी असफल भइन्। हाम्रा प्रतिद्वन्द्वी सबै वरीयता प्राप्त खेलाडी थिए,’ नेपाली टोलीकी प्रशिक्षक सुनीता मगर ताम्राकारले भनिन्, ‘चारै जनाले शतप्रतिशत दिएर खेलेका हुन्। खेलमा हार जित हुन्छ। चारै जनाले कमजोर प्रदर्शन गरेका होइनन्।’

पुरुष ६० केजीमुनि विकास विकको चुनौती भने एक मिनेट पनि पुग्न सकेन। उनले उज्बेकिस्तानका समरिद्दिन कुचकारोभको सामना गरेका थिए।

दुवै खेलाडीले पहिलो चरणमा बाई पाएका थिए। तर बाईपछि म्याटमा उत्रिएका विकासले त्यसको फाइदा उठाउन सकेनन्। समरिद्दिनले सुरुदेखि नै आक्रामक शैली अपनाए। उनले एसियन जुनियर र विश्व च्याम्पियनसिपमा स्वर्ण जितिसकेका छन्।

उज्बेकिस्तान खेलाडीले विकासलाई ४८ सेकेन्डमै इप्पोनका आधारमा पराजित गरे। विकासले अट्याक गर्ने प्रयास गरे पनि प्रतिद्वन्द्वीको गति र अनुभवका अगाडि उनको प्रयास सफल हुन सकेन। ‘विकासले अट्याक गर्ने प्रयास गरेका थिए तर अनुभवी खेलाडीसँग उनी सफल हुन सकेनन्। प्रतिद्वन्द्वी पनि राम्रा थिए,’ प्रशिक्षक सुनीताले भनिन्। महिला ४८ केजीमा निशा श्रेष्ठको प्रदर्शन पनि अपेक्षा अनुसार हुन सकेन।

हङकङकी योङ का लीसँग उनले इप्पोनका आधारमा हार बेहोर्नुपर्‍यो। निशाले दुई मिनेट ३२ सेकेन्डसम्म प्रतिस्पर्धा गरिन्। त्यसपछि भने उनले सहजै नतिजा सुम्पिइन्।

अर्का खेलाडी विशेष विकले भने चार मिनेटसम्म संघर्ष गरे। पुरुष ६६ केजी तौल समूहमा हङकङका वाङ का कीसँग विशेषले लगातार चुनौती प्रस्तुत गरे तर अन्ततः वाजारीका आधारमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिए। चार खेलाडीको नतिजा एउटै भए पनि उनीहरूको प्रदर्शनको कथा केही फरक थियो। विकास र निशाले निर्धारित समय पूरा गर्न सकेनन्। विशेषले चार मिनेटसम्म संघर्ष गरे। देवकीमायाले अन्तिम २० सेकेन्डसम्म आफ्नो खेल जोगाउने प्रयास गरिन्। तर निर्णायक क्षणमा प्रतिद्वन्द्वीले बाजी मारे।

नेपाली टोलीका लागि सबैभन्दा चिन्ताको विषय भने अन्तर्राष्ट्रिय म्याच एक्सपोजर बन्यो। पछिल्ला दुई वर्षमा चारै खेलाडीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिएनन्। यही अवधिमा उनीहरूले दुईवटा मात्र घरेलु प्रतियोगिता खेलेका थिए। एसियाली खेलकुदमा भने उनीहरूले एसिया र विश्वस्तरका नियमित अन्तर्राष्ट्रिय खेलाडीको सामना गर्नुपर्‍यो। ‘उनीहरूले पछिल्ला दुई वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन्। घरेलु प्रतियोगिता पनि सीमित मात्र भयो। त्यसको असर हाम्रा खेलाडीको प्रदर्शनमा देखियो,’ प्रशिक्षक सुनीताले भनिन्। मिसन २०२६ अन्तर्गत जुडोले झन्डै तीन वर्षदेखि नियमित तयारी गर्दै आएको थियो।

खेलाडीले प्रशिक्षण गरेका थिए। शारीरिक र प्राविधिक तयारीमा पनि समय खर्चिएको थियो। तर अन्तर्राष्ट्रिय म्याच एक्सपोजरको अभावले उनीहरूको तयारीलाई प्रतिस्पर्धात्मक दबाबमा परीक्षण गर्ने अवसर नै कम भयो। जुडोमा प्रशिक्षण र प्रतियोगिताबिच ठूलो अन्तर हुन्छ। दबाबमा कम गर्न अन्तर्राष्ट्रिय खेल आवश्यक पर्छ। प्रतिद्वन्द्वीको गति, शैली, शारीरिक बल र रणनीति बुझ्न नियमित अन्तर्राष्ट्रिय प्रतिस्पर्धाले भूमिका खेल्छ।

 नागोयामा नेपाली खेलाडीले त्यही अनुभवको कमी महसुस गरे तर प्रशिक्षक सुनीताले आफ्ना खेलाडीलाई मात्र दोष दिइनन्। ‘चारै जनाले शतप्रतिशत दिएका छन्। खेलमा हार जित हुन्छ,’ उनले भनिन्, ‘उनीहरूका प्रतिद्वन्द्वी पनि वरीयता प्राप्त खेलाडी थिए।’

नेपालको जुडोमा पदकको प्रतीक्षा भने अझै सकिएको छैन। अब तीन पदकका लागि नेपालले प्रतिस्पर्धा गर्न बाँकी छ। महिला ७० केजीमुनि पुनम श्रेष्ठ, पुरुष ९० केजीमुनि सुजन गुरुङ र मिक्स टिम इभेन्टमा नेपालले प्रतिस्पर्धा गर्नेछ। १३औं दक्षिण एसियाली खेलकुलमा स्वर्णविजेता पुनमले राम्रो गर्ने अपेक्षा गरिएको छ। उनी सबैभन्दा अनुभवी पनि हुन् तर म्याटमा उनको पनि अनुभवको कमी नदेखियोस् भन्ने अपेक्षा छ। नागोयामा बुधबार नेपाली जुडोले पदक त पाएन तर एउटा प्रश्न भने फेरि बलियो बन्यो। लामो तयारी मात्र पर्याप्त पक्कै छैन। सँगै अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पनि दिनुपर्छ।

प्रकाशित: १५ आश्विन २०८३ ०७:१९ बिहीबार