खेल

जुड बेलिंघमको दुई गोल : नर्वेलाई हराउँदै इगंल्यान्ड विश्वकप सेमिफाइनलमा

जुड बेलिंघमले अतिरिक्त समयमा गरेको निर्णायक गोलसँगै इगंल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान मियामी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा इगंल्यान्डले नर्वेलाई २-१ ले पराजित गरेको हो।

खेलको ३६ औं मिनेटमा एन्ड्रियास स्चेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा बेलिंघमले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इगंल्यान्डलाई जित दिलाए।

खेलमा नर्वेले अग्रता बढाउने केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। ५६ औं मिनेटमा टोर्बजोर्न हेगेमले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) ले इर्लिङ हालान्डले फाउल गरेको भन्दै उक्त गोललाई मान्यता दिएन। यस खेलमा स्टार हालान्ड गोल गर्न असफल रहे।

इगंल्यान्डका प्रशिक्षक थोमस टुचेलको टोली अब फाइनल प्रवेशका लागि एटलान्टामा हुने सेमिफाइनल खेलमा अर्जेन्टिना वा स्विट्जरल्याण्डको सामना गर्नेछ। इगंल्यान्डका खेलाडीले भन्छन्, ‘अर्को चरणको लागि हामी पूर्ण रूपमा तयार छौं।’

यसअघि, खेल सुरु हुनुअघि दक्षिण अफ्रिकाका २५ वर्षीय मिडफिल्डर जेडेन एडम्सको निधनप्रति शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

यसैबिच, विश्वकपको अर्को क्वार्टरफाइनल खेलमा आज बिहान कान्सास सिटी रंगशालामा अर्जेन्टिना र स्विट्जरल्याण्ड आमनेसामने हुँदैछन्। नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुने यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। आजको खेलको विजेताले सेमिफाइनलमा इगंल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

इगंल्यान्ड सन् २०१८ पछि पहिलो पटक विश्वकपको अन्तिम चारमा पुगेको हो। सन् १९६६ को विश्वकप विजेता इगंल्यान्ड अब उपाधि नजिक पुग्ने लक्ष्यमा छ।

प्रकाशित: २८ असार २०८३ ०६:१६ आइतबार