कुल १९ जना खेलाडीले बुधबारदेखि काठमाडौंमा सुरु भएको भक्त राना स्मृति र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा संयुक्त रूपमा अग्रता लिएका छन्।
सिनामंगलस्थित रोयल एयरपोर्ट होटेलमा पहिलो दिन सम्पन्न तीन चरणको खेलमा कुल १९ जना खेलाडीले समान तीन अंक बटुल्दै अग्रता लिएका हुन्। दुई दिने प्रतियोगितामा १९०० रेटिङभन्दा कमका खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
उक्त प्रतियोगिताको पहिलो दिन शीर्ष वरीयताका खेलाडी सुमन लामा, नवीनन तण्डुकार, उमेश राई र दीपक महर्जनले तीन अंक बटुलेका छन्। उनीहरूसँगै लोकबहादुर गोले, खोमप्रसाद तिमिल्सना, सुनील घिमिरे, सुशील सुवेदी, राजेश कक्षापती र जेनिसलाल श्रेष्ठले पनि समान तीन अंक नै जोड्दै शीर्षता कायमै राखेका हुन्। दुई दिने प्रतियोगितामा कुल दुई सय २१ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्।
अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुको मुख्य निर्णायकमा उक्त प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा सन्देश श्रेष्ठ, हेमराज भण्डारी, कविन्द्र सिवाकोटी, मिसन दाहाल, निखिल चौधरी, जगनाथ ताम्राकार, चुडामण राई, सचिनकुमार चौधरी र डिएस तुलाधारले समान तीन अंक जोडेका छन्। अन्य १७ जना खेलाडीले २.५ अंक बटुल्दै उनीहरूलाई पछ्याइरहेका छन्।
गण्डकी प्रदेशका सांसद युवराज चौलागाइँले पनि यो प्रतियोगितामा प्रतिस्पर्धा गरे। माओवादी केन्द्रका युवा नेतासमेत रहेका चौलागाइँले रामेछाप जिल्लाबाट प्रतिस्पर्धा गरेका हुन्। उनले पहिलो राउन्डमा काठमाडौंमा रमेशवीर माली र दोस्रो राउन्डमा बर्दियाका सुरेन्द्रबहादुर थापासँग पराजित भएका थिए।
बिहीबार बाँकी ६ राउन्डसम्म खेल प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा खुला, महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहमा प्रतिस्पर्धा भइरहेको छ। यस प्रतियोगितामा दुई लाखभन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ। र्यापिड चेस प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुनेछ। बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि दुई लाख ४ हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको लागत ११ लाख ४३ हजार रुपैयाँ छ। अखिल नेपाल बुद्धिचाल संघले विगतमा पनि स्तरीय प्रतियोगिता आयोजान गर्दै आएको छ।
प्रकाशित: १२ भाद्र २०८२ ०७:५७ बिहीबार