फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार सुरुवात गरेको छ। खेलको चौथो मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको हो।
खेलको सुरुदेखि नै आक्रामक देखिएको जापानका लागि दाइची कामादाले गोल गरेका हुन्। रित्सु डोआनले दायाँ भागबाट अघि बढाएको बल केइतो नाकामुरासम्म पुगेको थियो। नाकामुराले ट्युनिसियाका डिफेन्डरलाई छक्याउँदै दिएको 'लो क्रस' पासलाई कामादाले उत्कृष्ट ब्याकहिलमार्फत गोलमा परिणत गरे।
यो गोल जापानको विश्वकप इतिहासमै सर्वाधिक छिटो गोल हो। सुरुवाती समयदेखि नै ट्युनिसियालाई दबाबमा राखेको जापानले विपक्षीलाई खेलमा फर्किने मौका दिएको छैन। ट्युनिसिया र जापान दुवै टोली प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्दै छनोटको आशा जीवित राख्ने लक्ष्यमा छन्।
यसअघि ट्युनिसियाले केही समय बल नियन्त्रणमा लिए पनि 'सामुराई ब्लु' को कडा प्रेसका कारण उनीहरू पछि हट्न बाध्य भए। समूह एफको अघिल्लो खेलमा नेदरल्याण्ड्सले स्वीडेनलाई ५-१ को फराकिलो अन्तरले हराउँदै चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
मोन्टेरी स्टेडियममा भइरहेको पहिलो हाफमा जापान १-० ले अगाडि छ।
प्रकाशित: ७ असार २०८३ १०:०८ आइतबार