खेल

जापान कुनै गोल नखाई क्वार्टरफाइनलमा

आफ्नो उत्कृष्ट रक्षात्मक प्रदर्शनलाई कायम राखेको जापानले कुनै गोल नखाई एएफसी महिला एसियन कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

मंगलबार नै उत्कृष्ट दुईवटा तेस्रो टोलीका रूपमा उज्बेकिस्तान र फिलिपिन्स पनि क्वार्टरफाइनलमा पुगे। यसै दिन मैदानमा भएको खेलभन्दा बाहिरको घटनाले बढी ध्यान तान्यो। इरान टोलीका पाँच खेलाडीलाई आयोजक राष्ट्र अस्ट्रेलियाले शरण (आश्रय) दिएको चर्चा भयो।

मंगलबार पर्थमा भएको समूह ‘सी’ को अन्तिम तथा तेस्रो खेलमा जापानले भियतनामलाई ४–० ले पराजित गर्‍यो। गोल अन्तरका आधारमा फिलिपिन्स उत्कृष्ट तेस्रो टोली बन्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो। मंगलबार नै सिड्नीमा चाइनिज ताइपेई भारतलाई ३–१ ले हराउँदै समूह उपविजेता बन्यो। उक्त खेलमा दुवै टोलीका खेलाडी ठोकिँदा खेल प्रभावित भयो।

दुवै टोलीका गोलकिपर टाउकोमा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए। तीन खेलबाट तीनै जित निकाल्दै जापानले कुल १७ गोल गरेको छ। जापान अहिलेसम्म कुनै गोल नखाएको एकमात्र टोली बनेको छ। क्वार्टरफाइनलमा जापानले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

भियतनामले जापानविरुद्ध तीन गोल अन्तरको हार र चाइनिज ताइपेईले भारतसँग हार टार्न सफल भयो भने उत्कृष्ट तेस्रो स्थानमा रहने सम्भावना समाप्त हुने समीकरण थियो। भियतनामले पहिलो हाफसम्म सम्भावना कायमै राख्यो। भियतानमकी गोलकिपर खोङ थी हाङले धेरै उत्कृष्ट बचाउ गर्दै जापानलाई पहिलो हाफमा १–० को अग्रता मात्र लिन दिइन् तर भारतविरुद्ध ११ गोल गरिसकेको जापानले निरन्तर दबाब सिर्जना गरिरह्यो।

रिको उएकीले हेडरमार्फत जापानको पहिलो गोल गरिन्। जुन उनको प्रतियोगितामा चौथो गोल थियो। त्यसपछि माइका हमानो, आओबा फुजिनो र किको सेइकेले थकित भियतनामी रक्षापंक्तिविरुद्ध गोल थपे। खेलको अन्त्यतिर भियतनामकी डुओङ थी भान जापानकी मिना तनाकासँग टाउको ठोकिएपछि मैदानबाट बाहिरिनुपरेको थियो। चाइनिज ताइपेईले भारतलाई हराउँदै क्वार्टरफाइनलमा चीनसँग खेल्ने भएको छ तर खेलको अन्त्यतिर दुवै टोलीका प्रमुख खेलाडी घाइते भएपछि चिन्ता बढेको थियो।

सु यु ह्सुआनले चाइनिज ताइपेईलाई अग्रता दिलाइन्। त्यसपछि मनीषा कल्याणको फ्रिकिक क्रस बारमा लागेर फर्किएपछि भारत खेलमा फर्कियो। पछि ताइवानले पुनः अग्रता लिन सफल भयो। पोस्टमा लागेर फर्किएको बल भारतीय गोलकिपर एलाङबाम पन्थोई चानुलाई छोएर गोल भयो। जुन आत्मघाती गोल मानियो।

ताइवान २–१ ले अघि रहेको बेला गोलकिपर वाङ यु टिङ टाउकोमा चोट लागेको जाँचपछि मैदानबाट बाहिरिइन् । यसअघि पनि सान्फिदा नोङरुमको काँध उनको टाउकोमा ठोक्किँदा उनी केही समय उपचारपछि खेलिरहेकी थिइन्। पछि चेन यु चिनले काउन्टर आक्रमणमा तेस्रो गोल गर्दै ताइपेईको जित सुनिश्चित गरिन् तर उनलाई रोक्ने क्रममा भारतका दुई खेलाडी गम्भीर रूपमा ठोकिएर मैदानबाट स्ट्रेचरमा बाहिरिनुपर्‍यो। गोलकिपर पन्थोई चानु बचाउ गर्ने प्रयासमा उफ्रँदा डिफेन्डर तथा कप्तान स्विटी देविको घुँडा उनको अनुहारमा लागेको थियो। अनुहार निकै सुन्निएको अवस्थामा पन्थोईलाई स्ट्रेचरमा बाहिर लगियो। स्विटी देवी केही समय मैदानमा नचल्ने अवस्थामा थिइन् र पछि उनलाई पनि मैदानबाट बाहिर लगियो। यो खेलमा पन्थोई चानु दोस्रो पटक टाउकोमा चोट लागेर उपचार लिनुपरेको थियो। पहिलो हाफमा एउटा प्रहार उनको टाउकोमा लाग्दा उनी पछाडि ढलेकी थिइन् र उनको टाउको जमिनमा ठोक्किएको थियो।  

प्रकाशित: २७ फाल्गुन २०८२ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App