नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रनको योगफल तयार पारेको हो।
जनकपुरको सुरुवात निकै खराब रह्यो। पावरप्ले भित्रै टोलीले आफ्ना शीर्ष ३ ब्याटर गुमाइसकेको थियो। सुदूरपश्चिमका तीव्र गतिका बलर स्कट कुगेलेइनले ओपनर आसिफ शेख (०) र मयन यादव (६) लाई सस्तैमा पेभेलियन फर्काए।
लगत्तै कप्तान दीपेन्द्र सिंह ऐरीले माज सदाकत (१२) लाई बोल्ड गरेपछि ५.४ ओभरमा जनकपुर ३५/३ को दयनीय अवस्थामा पुगेको थियो।
संकटमा परेको इनिङलाई जान निकोल लोफ्टी-इटन र सन्जय कृष्णमूर्तिले सम्हाले। यी दुईबीच चौथो विकेटका लागि ३९ रनको साझेदारी भयो। लोफ्टी-इटनले ३३ बलमा २ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट भए।
जनकपुरका लागि सन्जय कृष्णमूर्तिले सर्वाधिक ५० रनको योगदान दिए। उनले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
उनी १७.२ ओभरमा अविनाश बोहराको बलमा बोल्ड भए। तल्लो क्रममा आदित्य महताले १५ र कप्तान वेन पार्नेलले १४ रन जोड्दै टोलीको स्कोर १४५ सम्म पुर्याए।
सुदूरपश्चिम रोयल्सका बलरहरूले कसिलो बलिङ प्रदर्शन गरे। डेथ ओभर स्पेसलिस्ट अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए।
उनले सन्जय कृष्णमूर्ति, शुभ कंसाकार, वेन पार्नेल र जान निकोल लोफ्टी-इटनको महत्त्वपूर्ण विकेट लिएका थिए।
त्यस्तै, स्कट कुगेलेइनले ४ ओभरमा २२ रन मात्र दिएर ३ विकेट हात पारे। कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
अब केही बेरमा १४६ रनको विजय लक्ष्य पछ्याउँदै सुदूरपश्चिम रोयल्सले जवाफी ब्याटिङ गर्नेछ।
प्रकाशित: १३ मंसिर २०८२ १७:१४ शनिबार