खेल

त्रित राजको अर्धशतकमा जनकपुरले बनायो १४७ रन, पोखरालाई १४८ को लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा १४७ रन बनायो।

जनकपुरका लागि ब्याटर त्रित राज दासले सानदार अर्धशतकीय इनिङ्स खेले। क्रिजमा धैर्यतापूर्वक टिकेका उनले ५५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६१ रन जोडे। उनले ४९ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए।

पछिल्ला ओभरहरूमा अभिषेक तिवारीले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्‍याए। अभिषेकले मात्र १० बलमा २ छक्का र १ चौका प्रहार गर्दै अविजित २४ रन बनाए।

यसअघि ओपनर मोइन अलीले २१ रन बनाएका थिए भने जेम्स निसमले ११ तथा कप्तान हरमित सिंह र अनिल शाहले समान ९-९ रन जोडे।

बलिङतर्फ पोखराका विश्वचर्चित अलराउन्डर शाकिब अल हसनले घातक स्पेल गरे। उनले ३ ओभरमा मात्र ४ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै मेहदी हसन, चमिका करुणारत्ने र मोहम्मद सैफुद्दिनले १-१ विकेट हात पारे।

जारी लिगमा पहिलो जितको खोजीमा रहेको पोखराले अब केही बेरमा १४८ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित: १५ कार्तिक २०८३ १८:३७ आइतबार