खेल

जनकपुरको ब्याटिङ लाइनअप ध्वस्त, ३७ रनमै आधा टिम पेभेलियन फर्कियो

पोखरा एभेन्जर्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सको ब्याटिङ इनिङ्सको सुरुवातमै ध्वस्त भएको छ। ३७ रन जोड्दा जनकपुरले आफ्ना ५ महत्वपूर्ण विकेट गुमाइसकेको छ।

जनकपुरका कप्तान अनिल शाह पनि पेभेलियन फर्किएपछि टोली गहिरो संकटमा परेको हो।

इनिङ्सको ६.३ ओभर मा विपिन खत्रीले कप्तान अनिल शाहलाई १ रनको व्यक्तिगत स्कोरमा तृत राज दासको हातबाट क्याच आउट गराए।

पोखराका बलरसामु जनकपुरका ब्याटरहरू निरिह साबित भएका छन्।

जनकपुरका ओपनरद्वय आसिफ शेख (०), शुभ कंसाकार (४) तथा मध्यक्रमका जान निकोल लोफ्टी–इटन (२), माज सदाकत (२०) र कप्तान अनिल शाह (१) सस्तैमा आउट भएका छन्।

अहिले क्रिजमा सञ्जय कृष्णमूर्ति ९ रन बनाएर खेलिरहेका छन्। जनकपुरलाई जितका लागि अझै ११९ रन आवश्यक छ।

प्रकाशित: ११ मंसिर २०८२ १८:१८ बिहीबार