खेल

मोइन अलीको अर्धशतकसँगै जनकपुर जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौं खेलमा अनुभवी अलराउन्डर मोइन अलीको अर्धशतकको मद्दतले जनकपुर बोल्ट्स सहज जिततर्फ अघि बढेको छ।

काठमाडौं गोर्खाजले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १६ ओभरको समाप्तिमा २ विकेट गुमाएर १०० रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि जनकपुरलाई अब अन्तिम २४ बलमा मात्र १६ रन आवश्यक छ।

जनकपुरका लागि संयमित ब्याटिङ गरिरहेका मोइन अलीले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन्। उनी ५१ रन बनाएर क्रिजमा अविजित छन्।

उनलाई अर्का विदेशी खेलाडी सैफ हसनले उत्कृष्ट साथ दिइरहेका छन्। हसन ३२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाएर खेलिरहेका छन्। यी दुईबीच तेस्रो विकेटका लागि ६३ रनको अविजित साझेदारी भइसकेको छ।

यसअघि दोस्रो ओभरमै ओपनर त्रितराज दासलाई ५ रनमा गुमाएको जनकपुरले छैटौं ओभरमा मयान यादवलाई ९ रनमा रनआउटका रूपमा गुमाएको थियो। ३७ रनमै २ विकेट झरेपछि मोइन र सैफले इनिङ्स सम्हालेका हुन्।

काठमाडौंका लागि रिपन मण्डलले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका छन्। अन्य बलरहरूले भने किफायती बलिङ गर्ने प्रयास गरे पनि मोइन र सैफको साझेदारी तोड्न सकेका छैनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमै समेटिएको थियो। उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाएका थिए भने जनकपुरका राहुल यादवले ४ विकेट लिएका थिए।

प्रकाशित: १२ कार्तिक २०८३ १५:३६ बिहीबार