नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न पाँचौं खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजमाथि ८ विकेटको सानदार जित निकालेको छ। काठमाडौंले प्रस्तुत गरेको ११६ रनको सामान्य लक्ष्य जनकपुरले १६ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्यो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो। जवाफमा जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा ११६ रन बनाउँदै जित दर्ता गर्यो।
सामान्य लक्ष्य पछ्याएको जनकपुरको सुरुवात भने सहज रहेन। दोस्रो ओभरमै ओपनर त्रितराज दास ५ रनमा रिपन मण्डलको बलमा स्मित पटेलबाट क्याच आउट भए। छैटौं ओभरको पहिलो बलमा मयान यादव ९ रन बनाएर रनआउट भएपछि जनकपुर ३७/२ को स्थितिमा पुगेको थियो।
त्यसपछि क्रिजमा आएका दुई विदेशी खेलाडी मोइन अली र सैफ हसनले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि अविजित ७९ रनको म्याच-विनिङ साझेदारी गरे।
अनुभवी अलराउन्डर मोइन अलीले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको इनिङ्स खेले। उनले ४९ बलमै आफ्नो अर्धशतक पूरा गरेका थिए। अर्को एन्डबाट उनलाई उत्कृष्ट साथ दिएका सैफ हसनले ३९ बलमा १ चौका र ३ छक्कासहित ४० रन बनाए।
काठमाडौंका लागि रिपन मण्डलले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए। अन्य आठ जना बलर प्रयोग गरे पनि कप्तान करण केसीसहितका बलरहरू जनकपुरको साझेदारी तोड्न असफल रहे।
यसअघि ब्याटिङ गरेको काठमाडौंले पावरप्लेमै ३ विकेट गुमाएर ३६ रन मात्र जोड्न सकेको थियो। ओपनर साम हेजलेट १, हरिशंकर शाह ९ र स्मित पटेल १३ रनमै पेभेलियन फर्किएका थिए।
त्यसपछि क्रिज सम्हालेका भीम सार्कीले २९ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ३३ रन बनाए। रशिद खानले १४ बलमा १७ तथा सुमित महर्जनले १० रन जोडे।
तर इनिङ्सको १७औं ओभरमा काठमाडौंले नाटकीय पतन व्यहोर्यो। ९९ रनको स्थितिमा काठमाडौंले लगातार ३ विकेट गुमायो। कप्तान करण केसी ८ रनमा, मोहम्मद आदिल आलम शून्यमा र जहाँदाद खान ५ रनमा आउट भएपछि काठमाडौं सस्तैमा समेटियो। अन्तिम विकेटका रूपमा रिपन मण्डल ९ रन बनाएर आउट भए।
काठमाडौंलाई न्यून स्कोरमा रोक्न जनकपुरका बलर राहुल यादवले घातक बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट हात पारे।
ब्याटिङमा चम्किएका सैफ हसनले बलिङमा पनि किफायती प्रदर्शन गर्दै ४ ओभरमा मात्र ११ रन दिएर २ विकेट लिए। यस्तै मोइन अलीले ४ ओभरमा २३ रन खर्चेर १, कप्तान हरमीत सिंहले ३.३ ओभरमा १८ रन दिएर १ र ललित राजवंशीले ४ ओभरमा ३० रन दिएर १ विकेट लिए।
प्रकाशित: १२ कार्तिक २०८३ १५:४२ बिहीबार