खेल

एनपीएलमा आज जनकपुर र पोखरा भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

जनकपुर बोल्ट्सको टोलीमा कप्तान हरमित सिंहसहित इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली र अनिलकुमार साह छन्। त्यस्तै, ललितनारायण राजवंशी, रित गौतम र आशुतोष पाण्डे पनि टोलीमा छन्।

यता पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्। टोलीमा शाकिब अल हसन, महेदी हसन, चमिका करुणारत्ने र धनञ्जय लक्षानजस्ता खेलाडी छन्। सागर ढकाल, अर्जुन घर्ती र अर्जुन कुमाल पनि टोलीमा छन्।

यसैबीच, हिजो (शनिबार) भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ। 

वर्षाका कारण पाँच ओभरमा झारिएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले तीन विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो। यसअघि विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो।

हिजै चितवन राइनोज र लुम्बिनी लायन्सबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो।

प्रकाशित: १५ कार्तिक २०८३ ०६:२६ आइतबार