खेल

जेम्स हार्डेन क्लिभल्यान्डमै रहने, तीन वर्षको ९ करोड ७० लाख डलरमा सम्झौता

पूर्व एनबीए मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) तथा ११ पटकका अल स्टार खेलाडी जेम्स हार्डेनले क्लिभल्यान्ड क्याभालियर्ससँग नयाँ तीन वर्षको सम्झौता गर्ने भएका छन्। हार्डेनका प्रतिनिधिका अनुसार सम्झौताको कुल मूल्य ९ करोड ७० लाख अमेरिकी डलर रहनेछ।

सम्झौतामा २०२८-२९ सिजनका लागि खेलाडीको विकल्प र व्यापारसम्बन्धी अतिरिक्त सुविधा पनि समावेश गरिएको छ। ३७ वर्ष पुग्न लागेका हार्डेनले यसअघि आफ्नो पुरानो सम्झौतामा रहेको ४ करोड २३ लाख डलरको खेलाडी विकल्प अस्वीकार गर्दै बहुवर्षीय सम्झौताको बाटो रोजेका हुन्।

क्लिभल्यान्डले गत फेब्रुअरीमा हार्डेनलाई लस एन्जलस क्लिपर्सबाट भित्र्याएको थियो। त्यस क्रममा क्लिभल्यान्डले आफ्ना अल स्टार गार्ड ड्यारियस गार्ल्यान्डलाई क्लिपर्स पठाएको थियो।

क्याभालियर्सका लागि नियमित सिजनका २६ खेलमा हार्डेनले औसत २०.५ अंक र ७.७ असिस्टगरेका थिए। उनको आगमनले क्लिभल्यान्डको ब्याककोर्टलाई थप अनुभवी र प्रभावशाली बनाएको छ। हार्डेनले ओक्लाहोमा सिटी थन्डर, ह्युस्टन रकेट्स, ब्रुकलिन नेट्स, फिलाडेल्फिया ७६अर्स, क्लिपर्स र क्लिभल्यान्डबाट एनबीए खेलेका छन्। नियमित सिजनका १ हजार २२१ खेलमा उनले औसत २४ अंक, ५.६ रिबाउन्ड र ७.३ असिस्ट गरेका छन्।

क्लिभल्यान्डले हार्डेनसँग सम्झौता गर्नुअघि डेनभर नगेट्सबाट गार्ड पेटन वाट्सनलाई पनि भित्र्याएको थियो। नयाँ सम्झौतासँगै हार्डेनले क्लिभल्यान्डमा आफ्नो अनुभव र नेतृत्वलाई निरन्तरता दिने भएका छन्।

प्रकाशित: ५ भाद्र २०८३ १०:४१ शुक्रबार