खेल

जैसवालको सानदार शतकमा भारतद्वारा दक्षिण अफ्रिका ९ विकेटले पराजित

तस्बिर: भारतीय क्रिकेट टिम।

युवा ओपनर यशस्वी जैसवालको अविजित शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

शनिबार विशाखापट्टनममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ७१ रनको लक्ष्य भारतले ३९.५ ओभरमा मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो। जितसँगै भारतले ६१ बल बाँकी छँदै खेल आफ्नो पक्षमा पारेको हो।

लक्ष्य पछ्याउने क्रममा भारतले विष्फोटक सुरुवात गरेको थियो। ओपनरद्वय यशस्वी जैसवाल र रोहित शर्माले पहिलो विकेटका लागि १ सय ५५ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए।

रोहित शर्मा ७३ बलमा ७ चौका र ३ छक्कासहित ७५ रन बनाएर केशव महाराजको बलमा क्याच आउट भए।

रोहित आउट भए पनि जैसवालले इनिङ्स सम्हाल्दै आफ्नो शतक पूरा गरे। उनी १२१ बलमा १२ चौका र २ छक्काको मद्दतमा १ सय १६ रनमा अविजित रहे।

उनलाई साथ दिँदै विराट कोहलीले आक्रामक ब्याटिङ गरे। कोहलीले ४५ बलमा ६ चौका र ३ छक्कासहित अविजित ६५ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७० रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि विकेटकिपर ब्याटर क्विन्टन डि ककले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे। उनले ८९ बलमा ८ चौका र ६ छक्कासहित १ सय ६ रनको योगदान दिए।

त्यस्तै, कप्तान टेम्बा बाभुमाले ४८ रन बनाए भने डेवाल्ड ब्रेभिस र म्याथ्यू ब्रिट्ज्केले क्रमशः २९ र २४ रन जोडे। अन्य ब्याटरहरूले ठूलो स्कोर बनाउन नसक्दा दक्षिण अफ्रिकाले विशाल योगफल खडा गर्न सकेन।

दक्षिण अफ्रिकाको इनिङ्सलाई धराशायी बनाउन भारतीय बलरहरू प्रसिद्ध कृष्ण र कुलदीप यादवले घातक बलिङ गरे।

प्रसिद्ध कृष्णले ९.५ ओभरमा ६६ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै, स्पिनर कुलदीप यादवले १० ओभरमा ४१ रन मात्र दिएर ४ विकेट हात पारे।

अर्शदीप सिंह र रविन्द्र जडेजाले समान १–१ विकेट लिए।

प्रकाशित: २० मंसिर २०८२ २१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App