जय ट्रफी पुरुष एलिट कपको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले गतिलो प्रदर्शन गरेको छ। पहिलो दिनको खेलको समाप्तिमा आर्मीले पुलिसविरुद्ध १८० रनको अग्रता कायम राखेको छ।
आर्मीलाई २२१ रनमा अलआउट गर्दै आफ्नो इनिङ्स थालेको पुलिसले दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर ४१ रन बनाएको छ। दिनेश खरेल ११ र रसिद खान ३ रनमा नटआउट छन्।
अमित श्रेष्ठ र दिलसाद अली समान एक रनमा आउट हुँदा कुशल भुर्तेलले १८ रन बनाए। सोमपाल कामीले २ र आकाश चन्दले एक विकेट लिए।
यसअघि पुलिसले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको आर्मी २२१ रनमा अलआउट भयो। उसका लागि इमरान शेखले अर्धशतक बनाए भने भीम सार्कीले ३९, कुशल मल्लले ३८ र बसिर अहमदले ३० रन जोडे। पुछारका चार ब्याट्सम्यान नरेन साउद, पवन कार्की, सहाब खान र आकाश चन्दले खातै खोल्न नसकेपछि आर्मी २२१ रनमै अलआउट हुन पुग्यो।
पुलिसका लागि रसिद खानले ४ तथा करण केसी र ललित राजवंशीले समान ३ विकेट लिए।
प्रकाशित: ३ चैत्र २०८२ १८:४५ मंगलबार