खेल

इटालीविरुद्ध नेपाल १२३ रनमै अलआउट

आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को महत्त्वपूर्ण खेलमा नेपालले इटालीलाई जितका लागि १२४ रनको सामान्य लक्ष्य दिएको छ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा समेटिएको हो।

नेपालको सुरुवात आक्रामक रहे पनि त्यसलाई ठूलो स्कोरमा बदल्न नेपाली ब्याटरहरू चुके। ओपनर कुशल भुर्तेल ५ रनमै आउट भए पनि कप्तान रोहित पौडेल र आसिफ शेखले पारी सम्हाल्ने प्रयास गरेका थिए।

कप्तान रोहितले मात्र १४ बलमा २ छक्कासहित २३ रनको विस्फोटक इनिङ्स खेले। त्यस्तै अर्का ओपनर आसिफ शेखले २० रन जोडे।

मध्यक्रममा आरिफ शेखले सर्वाधिक २७ रन जोड्दै नेपाललाई सय रनको आँकडा पार गराए।

दीपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए। तर, एक समय १३.४ ओभरमा ९३/३ को बलियो स्थितिमा रहेको नेपालले त्यसपछिको ३० रन जोड्दा बाँकी ७ विकेट गुमाएपछि सस्तैमा समेटिन पुग्यो। अन्त्यतिर करण केसीले ११ बलमा १८ रन जोड्दै नेपाललाई १२० रनको पार गराउन मद्दत गरे।

लोकेश बम (३), गुलशन झा (३), नन्दन यादव (०) र ललित राजवंशी (०) ले दोहोरो अंकमा रन जोड्न सकेनन् भने सन्दीप लामिछाने ५ रनमा आउट भए।

इटालीका बलरहरूले वानखेडेको पिचमा नेपाली ब्याटरहरूलाई कडा चुनौती दिए। इटालीका लागि क्रिशन कालुगामेगे सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा मात्र १८ रन खर्चेर ३ विकेट लिए।

त्यस्तै, बेन मनेन्टीले अत्यन्तै किफायती बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट चट्काए। अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान १-१ विकेट लिए। नेपालका दुई ब्याटर नन्दन यादव र ललित राजवंशी रन आउट हुन पुगेका थिए।

यसअघि पहिलो खेलमा इङ्ल्यान्डसँग पराजित भएको नेपाललाई सुपर-८ को दौडमा कायम रहन यो खेल जित्नैपर्ने दबाब छ।

अब केही बेरमा इटालीले १२४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।

प्रकाशित: २९ माघ २०८२ १६:४५ बिहीबार