खेल

इटालीको विश्वकप सपना पेनाल्टीमा टुट्यो

चार पटकको विश्वविजेता इटाली लगातार तेस्रो पटक विश्वकप छनोट हुन असफल भएको छ। 

मंगलबार राति जेनिका (बोस्निया) मा भएको प्लेअफ फाइनलमा बोस्निया एन्ड हर्जगोभिनासँग १-१ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४-१ ले पराजित भएपछि इटालीको विश्वकप यात्रा समाप्त भएको हो। योसँगै इटाली पहिलो पूर्व विश्व च्याम्पियन बनेको छ जसले लगातार तीन पटक विश्वकपमा स्थान बनाउन सकेन।

खेलको १५औँ मिनेटमा मोइस केनले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। तर, ४१औँ मिनेटमा डिफेन्डर एलेसान्द्रो बास्तोनीले सिधा रातो कार्ड पाउँदै मैदान छाडेपछि इटाली १० खेलाडीमा सीमित भयो। ७९औँ मिनेटमा बोस्नियाका हरिस ताबाकोभिचले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। निर्धारित तथा थप समयमा पनि बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो।

पेनाल्टीमा इटालीका फ्रान्सेस्को पियो एस्पोसिटो र ब्रायन क्रिस्टान्टे चुके भने बोस्नियाका एस्मिर बजक्राटारेभिचले निर्णायक गोल गरे। बोस्नियाले ४-१ ले पेनाल्टी जित्यो।

हारपछि इटालीका डिफेन्डर लियोनार्डो स्पिनाजोलाले निराशा व्यक्त गर्दै भने, ‘यो सबैका लागि निराशाजनक छ। हाम्रो परिवार र ती बालबालिकाका लागि झन् दुःखद छ, जसले इटालीलाई विश्वकपमा कहिल्यै देख्न पाएका छैनन्।’

प्रशिक्षक गेनारो गट्टुसोले हारको जिम्मेवारी लिँदै प्रशंसकहरूसँग माफी मागेका छन्। उनले भने, ‘म व्यक्तिगत रूपमा माफी माग्न चाहन्छु किनकि हामीले लक्ष्य पूरा गर्न सकेनौँ। आज मेरो भविष्यभन्दा पनि विश्वकपमा पुग्न नसक्नु ठुलो कुरा हो।’

इटालीले अन्तिम पटक सन् २००६ मा विश्वकप जितेको थियो। अब उसले कम्तीमा १२ वर्षदेखि विश्वकपको मैदानमा एउटा पनि खेल खेलेको छैन।

मंगलबार नै भएका अन्य प्लेअफ खेलमा स्विडेनले पोल्यान्डलाई ३-२ ले, टर्कीले कोसोभोलाई १-० ले हराउँदै विश्वकपमा स्थान बनाएका छन्। यस्तै, चेकियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सन् २००६ पछि पहिलो पटक विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ।

बोस्निया एन्ड हर्जगोभिना अब विश्वकपको समूह ‘बी’ मा क्यानाडा, कतार र स्विट्जरल्यान्डसँग भिड्नेछ। एजेन्सी

प्रकाशित: १८ चैत्र २०८२ ०९:५१ बुधबार