खेल

ईशान पाण्डेको विस्फोटक अर्धशतक, सुदूरपश्चिम जिततर्फ अग्रसर

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका युवा ब्याटर ईशान पाण्डेले शानदार अर्धशतक प्रहार गरेका छन्।

जनकपुरले दिएको १४६ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा ईशानले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ५६ रनको महत्त्वपूर्ण पारी खेले।

उनले आफ्नो इनिङमा ८ चौका र १ छक्का प्रहार गरे। १६०.०० को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनी अर्धशतक पूरा गरेपछि आदित्य महताको बलमा मयन यादवद्वारा क्याच आउट भए।

इनिङको पहिलो बलमै ओपनर जोस ब्राउन (०) आउट भएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। तर, तेस्रो नम्बरमा आएका ईशान पाण्डेले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर इनिङ उकासे। विनोद भण्डारीले ४२ रनको योगदान दिए।

ईशान आउट हुँदा सुदूरपश्चिमले १५.४ ओभरमा ४ विकेट गुमाएर ११५ रन बनाएको छ।

टोलीलाई अब जितका लागि २६ बलमा ३१ रन आवश्यक छ। क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन्।

प्रकाशित: १३ मंसिर २०८२ १८:४८ शनिबार