खेल

रेड कार्ड नपाउनु मेस्सीको भाग्य !

विश्वकप २०२६ अन्तर्गत समूह जेको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हरायो।अर्जेन्टिनालाई सहज जित दिलाउन कप्तान लियोनल मेस्सीले कीर्तिमानी ह्याट्रिक गरे।

३८ वर्षीय मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिकसहित १६ औं गोलको कीर्तिमान बराबरी गरे। यसअघि जर्मनीका मिरोस्लाभ क्लोसले १६ गरेका थिए।

आफ्नो छैटौं विश्वकप खेल्दै इतिहास रचेका मेस्सीले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ६० औँ मिनेटमा दोस्रो गोल थपेका उनले ७६ औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए।

अर्जेन्टिनाले १–० बनाउनु अगाडि पहिलो हाफमा मेस्सीलाई रातो कार्ड देखाइएको भए अवस्था धेरै फरक हुने थियो।

उनको स्टड मन्डीको पछाडि पिडुलामा खुट्टाले हिर्काएको जस्तो देखिन्थ्यो। तर उनलाई न त रेफ्री स्जाइमन मार्सिनियाक न त भिडियो सहायक रेफ्री (भिएआर) ले यसलाई थप कारबाहीको योग्य ठाने।

म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर नेदुम ओनुओहाले त्यसमा रातो कार्ड देखाइनुपर्ने बताए। उनले ईएसपीएनलाई भने, ‘यो रातो कार्ड हुनुपर्थ्यो। त्यो समयमा मेस्सीलाई केही हदसम्म चिन्ता भएको देख्न सक्नुहुन्थ्यो किनभने उनले त्यस्तो काम गरेका थिए जसले उनलाई समस्यामा पार्न सक्छ।’

फ्रान्स र आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले यसमा उचित विश्लेषण हुनुपर्ने बताए। उनले फक्स स्पोर्ट्सलाई भने, ‘यी परिस्थितिहरूको उचित विश्लेषण गर्दा नियत धेरै महत्त्वपूर्ण हुन्छ। यहाँ स्पष्ट रूपमा देखिन्छ कि लियोनेल मेस्सी बलमा केन्द्रित छन् र फुटबल एक्सन गर्ने प्रयास गरिरहेका छन्, कसैलाई चोट पुर्‍याउने प्रयास गरिरहेका छैनन्। यो असहज देखिन्छ। तर हरेक टक्कर रातो कार्ड हुँदैन।’

प्रकाशित: ३ असार २०८३ १४:२९ बुधबार