इरानले विश्वकप २०२६ का क्रममा आफूहरूले भोगिरहेका यात्रा प्रतिबन्धविरुद्ध विश्व फुटबल महासंघ (फिफा)समक्ष औपचारिक उजुरी दर्ता गर्ने भएको छ।
इरानी टोलीलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न र खेलकै दिन देश छाड्न भनिएपछि उनीहरुले उजुरी दिन लागेका हुन्।
इरानी फुटबल महासंघले जारी गरेको विज्ञप्तिमा यस्तो यात्रा प्रतिबन्ध ‘प्रतियोगितामा सहभागी सबै टोलीलाई समान अवस्था उपलब्ध गराउने सिद्धान्तविपरीत रहेको’ र यसले टोलीको तयारी प्रक्रियामा नकारात्मक असर पार्ने उल्लेख गरेको छ।
महासंघले असन्तुष्टि जनाउँदै उपयुक्त माध्यममार्फत फिफासमक्ष औपचारिक उजुरी दर्ता गरिने जनाएको छ।
यसअघि इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेपछि आफ्नो टोलीलाई प्रतियोगिताकै ‘सबैभन्दा पीडित टोली’ भनेका थिए। इरानी टोलीका धेरै महत्त्वपूर्ण प्राविधिक तथा सहयोगी सदस्यहरूले अमेरिकी भिसा नपाएको जनाइएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले न्युजिल्यान्डविरुद्धको खेलपछि इरानी टोलीको ड्रेसिङ रुममा पुगेर भेट गरेका थिए।
मध्यपूर्वमा जारी युद्ध र त्यससँग सम्बन्धित सुरक्षा चिन्ताका कारण इरानको विश्वकप सहभागिता सुरुदेखि नै अनिश्चितताले घेरिएको थियो। प्रतियोगिता सुरु हुनुअघि इरानी समर्थकका लागि छुट्याइएका टिकटसमेत रद्द गरिएपछि इरानी फुटबल महासंघले फिफालाई ‘तटस्थता, निष्पक्षता र स्थापित नियमहरूको सम्मान गर्न’ आग्रह गरेको थियो।
अमेरिकी गृह सुरक्षा विभागका एक प्रवक्ताले भने इरानी टोलीले यस्ता सर्तहरू पहिले नै स्वीकार गरेको बताएका छन्।
मध्यपूर्वको तनावका कारण इरानले विश्वकपका लागि अमेरिकाको एरिजोनाको सट्टा मेक्सिकोको तिहुआनालाई आफ्नो आधार शिविर बनाएको छ।
इरानका बाँकी दुवै समूह चरणका खेल अमेरिकामै हुनेछन्। उसले जुन २१ मा बेल्जियमसँग लस एन्जलसमा तथा जुन २७ मा इजिप्टसँग सियाटलमा खेल्नेछ।
इरानी फुटबल महासंघका अनुसार टोलीले प्रत्येक खेलभन्दा दुई दिनअघि आयोजक सहरमा पुग्न र खेलको भोलिपल्ट आधार शिविरमा फर्कन अनुमति मागेको थियो, ताकि खेलाडीहरूले स्थानीय अवस्था अनुकूल बनाउन, अन्तिम प्रशिक्षण गर्न र प्राविधिक तयारी पूरा गर्न सकून्।
तर न्युजिल्यान्डविरुद्धको खेलअघि जस्तै बेल्जियमविरुद्धको खेलअघि पनि उक्त अनुरोध अस्वीकृत गरिएको महासंघले जनाएको छ।
लस एन्जलसमा बेल्जियमविरुद्धको खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे हुने भएकाले टोलीलाई दुई दिनअघि नै त्यहाँ पुग्न दिन आग्रह गरिएको थियो। तर प्राविधिक कारण प्रस्तुत गर्दा पनि अनुमति नदिइएको महासंघको दाबी छ।
यता अमेरिका र इरानका राष्ट्रपतिहरूले युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। तर ह्वाइट हाउस फिफा कार्यदलका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले इरानले प्रतियोगितामा सहभागी हुँदा यस्ता सर्तबारे पहिलेदेखि नै जानकारी रहेको बताएका छन्।
उनले भने, ‘इरानी टोलीलाई खेल हुनुभन्दा एक दिनअघि अमेरिका प्रवेश गर्न दिइनेछ र खेल सकिएकै दिन राति देश छाड्नुपर्नेछ। लस एन्जलसमा पनि यही व्यवस्था लागू हुनेछ।
प्रकाशित: ५ असार २०८३ १५:०१ शुक्रबार