चेन्नई सुपर किंग्सले भारतीय पूर्व तीव्र गतिका बलर जहीर खानलाई आईपीएल २०२७ का लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
जहीरले १६ वर्षसम्म चेन्नईको मुख्य प्रशिक्षक रहेका स्टेफेन फ्लेमिङको स्थान लिएका हुन्। फ्लेमिङको प्रशिक्षणमा चेन्नईले पाँचपटक आईपीएलको उपाधि जितेको थियो। उनले सन् २००८ देखि चेन्नईसँग खेलाडी र प्रशिक्षकका रूपमा काम गरेका थिए।
चेन्नईका प्रबन्ध निर्देशक कासी विश्वनाथनका अनुसार जहीरको नाम टोलीको नेतृत्व समूहमा छलफलपछि तय गरिएको हो। टोलीका कप्तान ऋतुराज गायकवाड, पूर्व कप्तान महेन्द्रसिंह धोनी र सञ्जु सामसनसहित क्रिकेट व्यवस्थापनसँग छलफल गरेर निर्णय गरिएको उनले बताए।
जहीरको सम्झौता एक वर्षको हुनेछ। उनले छिट्टै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ। चेन्नईले उनलाई आफ्नै प्रशिक्षण टोली छनोट गर्ने अधिकारसमेत दिएको छ।
४७ वर्षीय जहीरको खेलाडीका रूपमा १४ वर्षको अन्तर्राष्ट्रिय करिअर रहेको थियो। उनले भारतलाई सन् २०११ को एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। आईपीएलमा उनले १०० खेल खेल्दै १०२ विकेट लिएका छन्।
जहीरले मुम्बई इन्डियन्समा क्रिकेट सञ्चालन निर्देशक तथा विश्वव्यापी विकास प्रमुखका रूपमा काम गरेका थिए। त्यसपछि उनी लखनउ सुपर जायन्ट्सको मार्गदर्शकसमेत बनेका थिए। चेन्नईको मुख्य प्रशिक्षकको जिम्मेवारी भने उनको पहिलो मुख्य प्रशिक्षक पद हो।
जहीरले मुम्बई इन्डियन्ससँग सन् २०१९ र २०२० मा लगातार दुई आईपीएल उपाधि जितेका थिए। उनले खेलाडीका रूपमा चेन्नईविरुद्ध दुई आईपीएल फाइनल खेले पनि दुवैमा हार बेहोरेका थिए।
पछिल्ला वर्षमा चेन्नईको प्रदर्शन कमजोर रहँदै आएको छ। सन् २०२३ मा उपाधि जितेपछि टोली लगातार प्लेअफ पुग्न सकेको छैन। सन् २०२५ मा चेन्नई अंकतालिकाको पुछारमा रहेपछि टोलीले युवा खेलाडीमा बढी भरोसा गर्न थालेको थियो।
फ्लेमिङले जुलाई २०२६ मा मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। उनको प्रशिक्षणमा रहेको चेन्नई २०२६ को सिजनमा आठौं स्थानमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो।
चेन्नईले दक्षिण अफ्रिकाको एसए-२० र अमेरिकाको मेजर लिग क्रिकेटमा पनि टोली सञ्चालन गर्दै आएको छ। तर जहीरको जिम्मेवारी भने आईपीएल टोलीमै सीमित रहने बताइएको छ।
‘आईपीएलको इतिहासकै सफल टोलीमध्ये एकको हिस्सा बन्न पाउनु सम्मानको कुरा हो। चेन्नईविरुद्ध खेलाडीका रूपमा मैदानमा उत्रिँदा ती प्रतिस्पर्धालाई निकै रमाइलो मानेको थिएँ। चेपकमा सुपरफ्यानले सिर्जना गर्ने वातावरणले यसलाई अझ विशेष बनाउँछ,’ जहीरले भनेका छन्।
प्रकाशित: ६ आश्विन २०८३ ०७:२४ मंगलबार

-600x400.jpg)

