इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पाँचौँ खेलमा आज लखनऊ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन्। लखनऊको एकना स्टेडियममा हुने यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।
आईपीएलमा हालसम्म दुवै टोलीले उपाधि जित्न सकेका छैनन्। यी दुई टोलीबिच भएका सात खेलमध्ये दिल्लीले चार र लखनऊले तीन खेल जितेका छन्। गत सिजनमा दिल्लीले दुवै खेल आफ्नो पक्षमा पारेको थियो।
अक्षर पटेलको कप्तानीमा दिल्ली क्यापिटल्सको ब्याटिङमा केएल राहुलले सुरुवात गर्ने र उनलाई करुण नायर वा पथुम निस्सान्काले साथ दिने अपेक्षा गरिएको छ। तीव्र गतिका बलर मिचेल स्टार्क काँधको चोटका कारण केही खेलमा बाहिर रहनेछन्। दिल्लीको मध्यक्रममा ट्रिस्टन स्टब्स र डेभिड मिलर छन् भने कप्तान अक्षर पटेल प्रमुख अलराउन्डरका रूपमा रहेका छन्।
ऋषभ पन्तको नेतृत्वमा रहेको लखनऊ सुपर जायन्ट्ससँग मिचेल मार्श र एडेन मार्करामको बलियो ओपनिङ जोडी छ। मध्यक्रममा निकोलस पूरन र पन्तको भूमिका महत्त्वपूर्ण हुनेछ। साथै, मोहम्मद शमी र अवेश खानले लखनऊको बलिङ आक्रमण सम्हाल्नेछन्।
एकना स्टेडियमको पिच सामान्यतया पहिले बलिङ गर्ने टोलीका लागि सहयोगी मानिन्छ। यहाँ भएका २२ खेलमध्ये लक्ष्य पछ्याउने टोली १२ पटक विजयी भएको छ।
प्रकाशित: १८ चैत्र २०८२ ०९:०७ बुधबार