आइपीएलको एलिमिनेटर खेलमा बुधबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ। मुल्लानपुरको महाराजा यादविन्द्र सिंह क्रिकेट रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
आज जित्ने टोलीले फाइनलको लागि मौका पाउनेछ भने हार्ने टोली सिधैँ बाहिरिनेछ। आजको विजयी टोलीले दोस्रो क्यालिफायरमा गुजरात टाइटन्ससँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्।
बुधबार राजस्थानका ओपनर वैभव सूर्यवंशीसँग एकै सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने रेकर्ड तोड्ने मौका पनि छ। यो रेकर्ड क्रिस गेलको नाममा छ। उनले २०१२ को सिजनमा बैंगलोरका लागि ५९ छक्का प्रहार गरेका थिए। वैभवले यस सिजनमा ५३ छक्का प्रहार गरेका छन्।
हेड–टू–हेड रेकर्डमा हैदराबाद राजस्थानभन्दा भन्दा राम्रो छ। आइपीएलमा उनीहरुबिच हालसम्म २३ खेल खेलिएकोमा हैदराबादले १४ र राजस्थानले ९ खेल जितेको छ।
राजस्थानका लागि वैभव सूर्यवंशी सर्वाधिक रन स्कोरर हुन्। उनले यस सिजनमा हैदराबादविरुद्ध शतक पनि बनाए। उनले १४ खेलमा ५८३ रन बनाएका छन्, जसमा तीन अर्धशतक पनि समावेश छ। यस्तै, बलरमा जोफ्रा आर्चरले १४ खेलमा २१ विकेट लिएका छन्।
यस्तै, हैदराबादका हेनरिक क्लासेनसँग ओरेन्ज क्याप जित्ने मौका छ। उनले १४ खेलमा ६०६ रन बनाएका छन्। ३२ रन बनाउने बित्तिकै उनले ओरेन्ज क्याप जित्नेछन्। यस्तै, इशान किशनले ५६९ रन र अभिषेक शर्मा ५६३ रन बनाएका छन्। बलरमा इशान मालिंगाले १९ विकेट लिएका छन्।
प्रकाशित: १३ जेष्ठ २०८३ १२:३३ बुधबार