आइपिएल २०२६ को फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको छ। रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबिचको फाइनल खेल मे ३१ मा (आइतबार) राति ७:४५ बजे हुनेछ।
साबिक विजेता बेंगलुरु लगातार दोस्रो ट्रफीको खोजीमा छ भने गुजरात टाइटन्स घरेलु मैदान (अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा) लाभ लिएर आफ्नो दोस्रो उपाधि जित्ने दाउमा छ।
बेंगलुरुका कप्तान रजत पाटीदारले टोलीलाई लगातार दोस्रो पटक फाइनलमा पुर्याएका छन्। उनले क्वालिफायर १ मा गुजरात विरुद्ध अविजित ९३ रन बनाउँदै बेंगलुरुलाई जित दिलाएका हुन्। गुजरातका कप्तान शुभमन गिलले राजस्थान विरुद्ध शतक (१०४ रन) प्रहार गर्दै आफ्नो टोलीलाई फाइनलमा पुर्याए।
बेंगलुरु समग्रमा पाँचौँ पटक फाइनलमा पुगेको छ। यस सिजन अघि टोलीले सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलेको थियो। रजत पाटीदारले दोस्रो सिजन टोलीको कप्तानी गरिरहेका छन् र दुवै पटक टोलीलाई फाइनलमा पुर्याएका छन्। बेंगलुरु लिग चरणमा १० टोलीमध्ये पहिलो स्थानमा रह्यो।
कप्तान पाटीदारले यस सिजन पाँच वटा अर्धशतक बनाए। उनको कप्तानीमा टोलीले गुजरात, दिल्ली र मुम्बईलाई दुई-दुई पटक पराजित गर्यो। उनीहरूले क्वालिफायर १ मा ५ विकेट गुमाएर २५४ रन बनाउँदै आइपिएल इतिहासकै उच्च प्लेअफ स्कोर पनि खडा गरे।
गुजरात टाइटन्स तेस्रो पटक आइपिएल फाइनलमा पुगेको छ। क्वालिफायर २ मा टोलीले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्यो। शुक्रबार मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गर्दै राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो। जवाफमा गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आइपिएल प्लेअफ खेलमा गुजरातको यो सबैभन्दा ठुलो सफल रन चेज हो।
यसैबिच, ऋषभ पन्तले आइपिएल फ्रेन्चाइजी लखनउ सुपर जायन्ट्सको कप्तान पदबाट राजीनामा दिएका छन्। फ्रेन्चाइजीले पन्त आफैँले राजीनामाको अनुरोध गरेको र त्यसलाई स्वीकार गरिएको बताएको छ। लखनउको टोली यस सिजन आइपिएलमा १०औँ तथा अन्तिम स्थानमा रह्यो।
प्रकाशित: १६ जेष्ठ २०८३ ०९:३९ शनिबार