प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई आज बिदाइ गरेका छन्।
माल्दिभ्समा यही माघ २१ देखि माघ २७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको छ। प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले भलिबल टोलीलाई विदाइ गरेका हुन्। उक्त टोलीमा १४ खेलाडी र चार अफिसियल रहेका छन्।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष रहेका महानिरीक्षक कार्कीले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई सिङ्गो नेपाल र नेपालीको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तरराष्ट्रियस्तरमा देश र सङ्गठनको गौरव बढाउन टोलीलाई शुभकामना दिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरूलगायतको उपस्थिति थियो।
प्रकाशित: १८ माघ २०८२ २०:१६ आइतबार