फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको सञ्चालन प्रणालीबारे स्वतन्त्र बाह्य समीक्षा गर्न प्रस्ताव गरेका छन्। उनले फिफाको काम गर्ने शैलीमा आवश्यक सुधार गर्न आफू खुला रहेको पनि बताएका छन्।
फिफा परिषद्का सदस्य तथा २११ सदस्य राष्ट्रका संघलाई पठाएको पत्रमा इन्फान्टिनोले स्वतन्त्र प्रक्रियामार्फत फिफाको कार्यप्रणालीमा सम्भावित सुधारका सुझाव प्राप्त गरिने उल्लेख गरेका छन्।
अर्को महिना हुने फिफा परिषद्को बैठकअघि उनले फिफाको निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा परामर्श अघि बढाउने प्रस्ताव पनि गरेका छन्। यसमा अध्यक्षको भूमिकासहित प्रमुख रणनीतिक निर्णयमा पारदर्शिता, सहभागिता र जवाफदेहिता बढाउने उपायबारे छलफल हुनेछ।
इन्फान्टिनोमाथि फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) योजनालाई लिएर पछिल्लो समय दबाब बढेको छ। उक्त योजनाअन्तर्गत विश्वकपलगायत फिफाका प्रतियोगिताको व्यावसायिक तथा टिकटिङ अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गर्ने र त्यसको २१ प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव गरिएको थियो।
योजनाको चर्को विरोध भएपछि इन्फान्टिनोले पत्रमार्फत आफूले पछिल्ला केही साता सम्बन्धित पक्षका कुरा सुनेर निर्णय लिन समय दिएको बताएका छन्। उनले महासंघ, सदस्य संघ तथा अन्य सम्बन्धित सरोकारवालासँग परामर्श गरिने जनाएका छन्।
इन्फान्टिनोले एफएफई योजनाले फिफाको खेलसम्बन्धी निर्णयमा रहेको नियन्त्रण वा अधिकार निजी क्षेत्रलाई हस्तान्तरण गर्ने उद्देश्य नरहेको दाबी गरेका छन्। उनका अनुसार योजना फिफाको संस्थागत प्रक्रिया पूरा हुनुअघि नै सार्वजनिक भएकाले त्यसले निर्णय भइसकेको जस्तो भ्रम सिर्जना गरेको थियो।
युरोपेली फुटबल महासंघ (यूएफा) र उत्तर तथा मध्य अमेरिका एवं क्यारिबियन क्षेत्रको महासंघ (कनकाकाफ) ले फिफालाई आफ्नो नगद सञ्चितिबाट २११ सदस्य संघलाई जनही १ करोड डलर उपलब्ध गराउन माग गरेपछि इन्फान्टिनोको नयाँ प्रस्ताव आएको हो।
यसअघि फिफा उपाध्यक्षसमेत रहेकी फुटबल एसोसिएसनकी अध्यक्ष डेबी ह्युइटले एफएफईसँग सम्बन्धित सबै कागजात सार्वजनिक गर्न माग गर्दै योजनाबारे स्वतन्त्र समीक्षा हुनुपर्ने बताएकी थिइन्।
इन्फान्टिनोले सन् २०२७ मार्चमा चौथोपटक फिफा अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन्। उनका प्रतिस्पर्धी उम्मेदवार खोज्न आगामी १८ नोभेम्बरसम्मको समयसीमा रहेको छ।
यसैबीच, यूएफाले एफएफई योजनालाई लिएर इन्फान्टिनोविरुद्ध अमेरिकामा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ। फिफाले भने यूएफामाथि आफ्ना अध्यक्ष र नेतृत्वविरुद्ध ‘दुष्प्रचार अभियान’ चलाएको आरोप लगाएको छ।
प्रकाशित: ६ आश्विन २०८३ १३:२८ मंगलबार