श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा भारतले बलियो पकड बनाएको छ। कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लब मैदानमा सोमबार सकिएको दोस्रो दिनको खेलमा भारतले पहिलो इनिङ्स ९ विकेट गुमाएर ५०३ रनमा घोषणा गरेपछि जवाफी ब्याटिङमा आएको श्रीलंका ८ रनमै २ विकेट गुमाएर दबाबमा परेको छ।
भारतको विशाल योगफलमा विकेटकिपर ब्याटर ध्रुव जुरेल नायक बने। उनले १७७ बलमा ११५ रनको अविजित शतकीय इनिङ्स खेले। जुरेलले नौ चौका र दुई छक्का प्रहार गर्दै टेस्ट करिअरको दोस्रो शतक पूरा गरे। उनको संयमित ब्याटिङले भारतलाई ५०० रनको आँकडा पार गराउन महत्वपूर्ण भूमिका खेल्यो।
जुरेललाई ऋषभ पन्तले पनि उत्कृष्ट साथ दिए। चोटका कारण पहिलो दिन केही समय मैदानबाहिर रहेका पन्तले पुनः ब्याटिङ गर्दै ६३ रन बनाए। जुरेल र पन्तबीच सातौँ विकेटका लागि ११२ रनको महत्वपूर्ण साझेदारी बनेपछि भारतले खेलमा आफ्नो नियन्त्रण थप बलियो बनाएको थियो।
यसअघि देवदत्त पडिक्कलले पनि शानदार शतक प्रहार गरेका थिए। उनले ११७ रन बनाएर भारतलाई बलियो आधार दिएका थिए। यशस्वी जायसवालले ४५, कप्तान शुभमन गिलले ५० र रविन्द्र जडेजाले ४३ रनको योगदान दिए। श्रीलंकाका लागि असिथा फर्नान्डोले ३ विकेट लिए भने प्रभात जयसूर्या र केशरा नुवान्थाले दुई-दुई विकेट लिए।
भारतले ५०३ रनमा इनिङ्स घोषणा गरेपछि जवाफी ब्याटिङमा आएको श्रीलंकाले सुरुवातमै दुई विकेट गुमायो। प्रसिद्ध कृष्णले लाहिरु उदारालाई १ रनमा आउट गरे भने मानव सुथारले प्रभात जयसूर्यालाई २ रनमा एलबीडब्लूको सिकार बनाए। खेल रोकिँदा श्रीलंका ३ ओभरमा ८ रनमा २ विकेट गुमाएर भारतभन्दा ४९५ रनले पछाडि छ।
दुई खेलको शृंखलामा भारत यसअघि नै १-० ले अगाडि छ। पहिलो टेस्ट भारतले १६५ रनले जितेको थियो। दोस्रो टेस्टमा पनि भारतले विशाल योगफल बनाएर सुरुवातमै श्रीलंकाका दुई विकेट झारेपछि घरेलु टोलीमाथि शृंखला जोगाउने ठूलो दबाब परेको छ।
यद्यपि दोस्रो दिनको खेल वर्षाका कारण पटक-पटक प्रभावित भएको थियो। खराब मौसमका कारण खेल निर्धारित समयभन्दा नै अगाडि रोकिएको थियो। तेस्रो दिन पनि वर्षाले खेलमा प्रभाव पार्न सक्ने सम्भावना रहेको छ, जसले भारतको जिततर्फको यात्रालाई केही चुनौती दिन सक्छ।
प्रकाशित: ९ भाद्र २०८३ ०७:३५ मंगलबार