भारत र श्रीलंकाबीचको दुई खेलको टेस्ट शृंखलाको दोस्रो तथा अन्तिम खेल आजदेखि कोलम्बोमा सुरु हुँदैछ। सिन्हालिज स्पोर्ट्स क्लब मैदानमा हुने खेलमा भारत शृंखला कब्जा गर्ने लक्ष्यमा छ भने श्रीलंका बराबरीका लागि मैदान उत्रिँदैछ।
गालेमा भएको पहिलो टेस्ट भारतले १६५ रनले जित्दै शृंखलामा १-० को अग्रता लिएको छ। पहिलो खेलमा देवदत्त पडिक्कलले १६७ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए भने मानव सुथारले १० विकेट लिएर भारतको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए।
घरेलु टोली श्रीलंका भने दोस्रो टेस्टमा महत्वपूर्ण खेलाडीको अभावमा हुनेछ। कुशल मेन्डिस र दिनेश चन्डिमल चोटका कारण खेल्ने छैनन् भने पाथुम निसांकासमेत उपलब्ध छैनन्। श्रीलंकाले दोस्रो टेस्टका लागि कामिल मिशारा र सहान आराचिगेलाई टोलीमा समावेश गरेको छ।
भारत पहिलो टेस्टकै लय कायम राख्दै २-० को जित निकाल्ने प्रयासमा हुनेछ भने श्रीलंका दाेस्राे टेस्टमा जित हासिल गर्दै सिरिज बराबर गर्ने लक्ष्य सहित मैदानमा उत्रिनेछ।
प्रकाशित: ७ भाद्र २०८३ ०८:३३ आइतबार