आइसिसी टी–२० विश्वकप २०२६ को उपाधि भिडन्तमा घरेलु टोली भारतले न्युजिल्यान्डसामु २ सय ५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
अहमदाबादमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५५ रनको बलियो योगफल खडा गरेको हो।
भारतलाई विशाल स्कोरसम्म पुर्याउन शीर्ष क्रमका ब्याटरहरूले आक्रामक पारी खेले। ओपनर सञ्जु सामसनले सर्वाधिक ८९ रनको महत्त्वपूर्ण योगदान दिए।
उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। त्यसैगरी, इशान किशनले २५ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए।
अर्का ओपनर अभिषेक शर्मा २१ बलमा ५२ रन बनाएर पभेलियन फर्किए। अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै शिवम दुवेले मात्र ८ बलमा ३ चौका र २ छक्काको मद्दतमा अविजित २६ रन जोडे भने तिलक वर्मा ८ रनमा अविजित रहे।
भारतीय ब्याटरले सानदार प्रदर्शन गरिरहँदा १६औं ओभरमा न्युजिल्यान्डका जेम्स निसमले बलिङमा पुनरागमन गराए।
उनले एकै ओभरमा सामसन, किशन र कप्तान सूर्यकुमार यादवलाई आउट गर्दै ३ विकेट लिए। कप्तान यादव ‘गोल्डन डक’ को सिकार बने। निसमले आफ्नो ४ ओभरको स्पेलमा ४६ रन खर्चिएर ३ विकेट लिए।
त्यसैगरी, म्याट हेनरी र रचिन रविन्द्रले समान १–१ विकेट लिए। तल्लो क्रममा आएका हार्दिक पाण्ड्या १८ रन बनाएर हेनरीको बलमा आउट भए।
न्युजिल्यान्डका लोकी फर्गुसनले २ ओभरमै ४८ रन खर्चिएका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ २०:५६ आइतबार