इंल्यान्डविरुद्धको पाँचौ तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले ६ रनको रोमाञ्चक जित निकालेको छ । योसँगै पाँच खेलको शृंखला २-२ को बराबरीमा सकिएको छ ।
लण्डनमा ३७४ रनको लक्ष्य पछ्याएको घरेटु टोली इंल्यान्ड ३६७ रनमा अलआउट भयो । पाँचौ तथा अन्तिम दिन जितका लागि मात्र ३५ रन चाहिएपनि इंल्यान्डले २८ रन जोड्दै बाँकी ४ विकेट गुमाएको थियो ।
इंल्यान्डका लागि हेरी ब्रुकले १११ र जोए रुटले १०५ रन बनाए । यस्तै बेन डुकेटले ५४ रन बनाए पनि हार भने टार्न सकेनन् ।
पाँचौ तथा अन्तिम दिन सोमबार गुस एटिङसनले १७ रन बनाएर जितका लागि संघर्ष गरेपनि पर्याप्त भएन । आज अन्तिम दिन उनीबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् ।
इंल्यान्डलाई सस्तैमा समेट्न मोहमद सिराजले ५ विकेट लिए । प्रशिद्ध कृष्णाले ४ जनालाई आउट गरे । आकाश दीपको नाममा एक विकेट रह्यो ।
यसअघि पहिलो इनिङ्समा इंल्यान्डले २४७ रन बनाएको थियो । भारतले भने पहिलो इनिङ्समा २२४ र दोस्रोमा ३९६ रन बनाएको थियो ।
प्रकाशित: १९ श्रावण २०८२ १६:४८ सोमबार