भारतीय पुरुष हक्की टोली एफआईएच विश्वकपको उपाधि दौडबाट बाहिरिएको छ। सोमबार नेदरल्यान्ड्सको एम्स्टेलभिनस्थित वागेनर रंगशालामा भएको दोस्रो चरणको खेलमा भारत अर्जेन्टिनासँग ५–३ गोलले पराजित भयो।
अर्को चरणमा पुग्न भारतलाई कम्तीमा दुई गोलको अन्तरले जित आवश्यक थियो। तर रक्षापंक्तिमा कमजोर प्रदर्शन गर्दा भारतले खेलको पहिलो मिनेटमै गोल खायो। त्यसपछि अर्जेन्टिनाले लगातार दबाब बढाउँदै पहिलो हाफमै ३–१ को अग्रता बनायो।
अर्जेन्टिनाका थोमस डोमेनेले दुई गोल गरे। जोआकिन टोस्कानी, निकोलास डेला टोरे र लुकास टोस्कानीले एक-एक गोल थपे। भारतका लागि सुखजीत सिंहले दुई गोल गरे भने हार्दिक सिंहले पेनाल्टी स्ट्रोकमार्फत एक गोल गरे। भारतले अन्तिम दुई मिनेटमा लगातार दुई गोल गरे पनि खेलमा फर्किन सकेन।
हारसँगै भारत विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ। अब भारतले सातौँ-आठौँ स्थानका लागि बेल्जियमसँग खेल्नेछ। अर्जेन्टिना भने दोस्रो चरणमा ६ अंकसहित सेमिफाइनल सम्भावना कायम राख्दै अन्य खेलको नतिजा पर्खनेछ।
प्रकाशित: ९ भाद्र २०८३ ०६:३४ मंगलबार