गतिलो खेलमैदानको अभाव, जसका कारण खेलाडी उत्पादन तथा विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्नै सकस। केही वर्ष अघिसम्मको लुम्बिनी प्रदेशभित्रको खेलकुदको यो हालत बिस्तारै फेरिँदै जान थालेको छ। खेल पूर्वाधारमा देखिएको विकासले खेलाडीमा समेत उत्साह वृद्धि भइरहेको छ। केही वर्ष अघिसम्म स्तरीय खेलमैदान नहुँदा लुम्बिनीले अपेक्षित खेल विकास गर्न सकेन तर पछिल्लो समय राष्ट्रिय स्तरकै खेलकुद प्रतियोगिता आयोजना गर्न सक्ने ल्याकत यो प्रदेशका खेल मैदानले राख्छन्। संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा निजी क्षेत्रको लगानीमा फुटबल, क्रिकेटसँगै इन्डोर तथा एथलेटिक्स खेलका लागि आधुनिक पूर्वाधार निर्माणको क्रम बढ्दो छ। खेल पूर्वाधारमा देखिएको यो बदलावका कारण खेलाडीहरूलाई नियमित प्रशिक्षण, प्रतियोगितामा सहभागिता र क्षमता विकासको अवसर मिलेको छ भने खेल क्षेत्रका नयाँ प्रतिभा पहिचानको अवसरसमेत खुलेको छ।
फुटबलतर्फ दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित बेलझुन्डी रंगशाला, बाँकेको नेपालगन्जस्थित महेन्द्र रंगशाला तथा रूपन्देहीको बुटवलस्थित एन्फा एकेडेमीको टेक्निकल सेन्टर प्रदेशका प्रमुख खेल पूर्वाधार रहेको लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अजित राजभण्डारी बताउँछन्। उनका अनुसार दाङ र नेपालगन्जमा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने अवस्था छ। रूपन्देही, दाङ र बाँकेका रंगशालाले राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने क्षमता विकास गरिसकेका छन्। कोहलपुर, बर्दघाट, पाल्पा र बर्दियालगायत क्षेत्रमा स्थानीय सरकारको पहलमा थप स्तरीय फुटबल मैदान निर्माण भइरहेका छन्। बेलझुन्डी रंगशाला फुटबलसँगै एथलेटिक्स प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी निर्माण गरिएको छ।
क्रिकेटतर्फ दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, रूपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला तथा तिलोत्तमामा निजी लगानीमा निर्माण गरिएको एक्स्ट्राटेक ओभल प्रदेशका प्रमुख क्रिकेट खेलका पूर्वाधार हुन्। यी मैदानमा प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिता आयोजनासमेत भैसकेका छन्।
यसै गरी दाङको घोराही तथा बाँकेको नेपालगन्जलगायत स्थानमा पनि क्रिकेट मैदान निर्माणाधीन छन्। देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री कपसहित विभिन्न राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेका छन्। लमहीमा रहेको रंगशालामा प्यारापिटसहित करिब तीन हजार दर्शक अट्ने क्षमता रहेको छ।
रूपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल निजी क्षेत्र पनि खेल पूर्वाधार विकासको महत्त्वपूर्ण उदाहरण बनेको छ। निजी लगानीबाट निर्माण भएको नेपालको पहिलो व्यावसायिक क्रिकेट मैदानका रूपमा रहेको यो खेल संरचनाले खेल पर्यटन, खेल उद्योग तथा व्यावसायिक खेल संस्कृतिको विकासमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
फुटबल र क्रिकेटसँगै भलिबलका पूर्वाधारमा पनि लगानी बढेको छ। रूपन्देही, दाङ, गुल्मी, पाल्पा, रोल्पा, प्युठान तथा रुकुमपूर्व लगायत जिल्लामा प्रतियोगिता सञ्चालनसँगै खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।
इन्डोर खेलका पूर्वाधारमा पनि पछिल्ला वर्षहरूमा सुधार भएको छ। विगतमा तेक्वान्दो, आइटिएफ तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन तथा कबड्डीका प्रतियोगिता खुला मैदान वा अस्थायी संरचनामा सञ्चालन गर्नुपर्ने अवस्था थियो। अहिले दाङ, रूपन्देही, बाँके, प्युठान, रोल्पा र पाल्पालगायत जिल्लामा कभर्ड हल निर्माण भएपछि वर्षभर नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा सहज भएको छ।
दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाका अनुसार आधुनिक इन्डोर पूर्वाधारले मौसमको प्रभावबिना नियमित अभ्यास गर्न सहज बनाएको छ। पूर्वाधार विस्तारसँगै घोराही, बुटवल र नेपालगन्जलगायत सहरमा व्यावसायिक प्रशिक्षण केन्द्र तथा खेल एकेडेमी सञ्चालनमा आएका छन्। प्रशिक्षित जनशक्ति, नियमित अभ्यास र आधुनिक सुविधाका कारण लुम्बिनी प्रदेशबाट राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडीको संख्या निरन्तर बढिरहेको छ।
खेल पूर्वाधारको विकासले राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पनि सहज बनाएको छ। पहिले काठमाडौं वा सीमित जिल्लामा मात्र निर्भर हुनुपर्ने अवस्था रहेकामा अहिले लुम्बिनी प्रदेशका विभिन्न रंगशालाले राष्ट्रियस्तरका प्रतियोगिता सफलतापूर्वक आयोजना गरिरहेका छन्। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन, खेल पर्यटन प्रवर्द्धन गर्न तथा युवामा खेलप्रति आकर्षण बढाउने काम गरेको बताउँछन्।
सरकारी निकाय, स्थानीय तह, खेल संघसंस्था तथा निजी क्षेत्रबीचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको खेलकुद क्षेत्रका अगुवा बताउँछन्। प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रत्येक वर्ष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, तेक्वान्दो, बडीबिल्डिङ लगायत प्रतियोगिता आयोजना गर्दै आएको छ। नियमित प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशमा खेलकुदको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने गरेको छ।
खेल क्षेत्रको उन्नयनका लागि लुम्बिनी प्रदेश सरकारको कदम समेत सकारात्मक छ। प्रदेश सरकारले समग्र खेल क्षेत्रकाो विकासलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गर्दै आइरहेको छ।
खेल क्षेत्रलाई पर्यटन विकाससंगसमेत जोडेर हेर्दै आएको प्रदेश सरकारले यो आर्थिक वर्षका लागि ३७ करोड रकम विनियोजन गरेको छ। ‘खेलकुल पूर्वाधार निर्माण तथा स्तरोन्नति तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रधिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि बजेटको व्यवस्था गरिएको छ,’ प्रदेश सरकारको बजेट वक्तव्यमा उल्लेख छ ‘यसले प्रदेशको गरिमा उँचो राख्ने विश्वास गरिएको छ।’
प्रकाशित: २५ श्रावण २०८३ ०६:१६ सोमबार