नेपाली टी-२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले जापानमा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा नेपालको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताएका छन्।
शनिबार एसियाडमा सहभागी हुने टोलीको बिदाइ कार्यक्रममा बोल्दै कप्तान ऐरीले इतिहास रच्ने उद्देश्यका साथ टोली जापान प्रस्थान गर्न लागेको बताएका हुन्।
‘हामी गोल्ड मेडलका लागि नै गइरहेका छौं। नभए पनि पदक लिएर आउने सोच छ,’ उनले भने।
हालै मलेसियामा भएको प्रतियोगितामा टोलीले देखाएको लयले पदकको आशा बढाएको उनको भनाइ छ। कुशल भुर्तेल र आसिफ शेखसहित टोलीका अधिकांश खेलाडी फर्ममा रहेको उल्लेख गर्दै कप्तान ऐरीले भने, ‘अहिले टिम राम्रो छ, सबैजना अनुभवी छन् र अभ्यास पनि राम्रै भइरहेको छ। टोलीको बन्डिङ उत्कृष्ट छ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक स्टुअर्ट लले पनि कप्तानको भनाइलाई समर्थन गर्दै टोली बलियो आत्मविश्वासका साथ मैदान उत्रिने बताए। ‘हामी त्यहाँ संख्या पूरा गर्न मात्र गएका होइनौं, राम्रो प्रदर्शन गर्नेछौं,’ प्रशिक्षक लले भने।
भारत र श्रीलंकाजस्ता एसियाका बलिया टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि पदक जित्न असम्भव नरहेको उनले दाबी गरे। ‘टी-२० क्रिकेटमा जुनसुकै दिन राम्रो खेल्नेले नतिजा आफ्नो पक्षमा पार्न सक्छ, त्यो दिन राम्रो खेल्न सकियो भने जे पनि हुन सक्छ,’ उनले भने।
प्रशिक्षक लका अनुसार एसियाडका लागि टोलीको तयारी उत्कृष्ट छ। टोलीका १८ खेलाडीले अस्ट्रेलियाको डार्विनमा टी-२० र ५० ओभरको क्रिकेट खेलेर फर्किएको तथा हालै प्रिमियर कपमा समेत सहभागी भएकाले खेलाडीहरू टी-२० ढाँचामा पूर्ण रूपमा अभ्यस्त भइसकेको उनले जानकारी दिए।
बिदाइ कार्यक्रममा कप्तान र प्रशिक्षक दुवैले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा गर्दै अस्ट्रेलियाका स्टार खेलाडी डेविड वार्नरको आगमनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
विदेशी लिग खेलिसकेका चर्चित खेलाडी नेपाल आउँदा नेपाली क्रिकेटको स्तर र आकर्षण दुवै बढ्ने कप्तान ऐरीले बताए।
त्यसैगरी, प्रशिक्षक लले वार्नरलाई विश्वकै उत्कृष्ट क्रिकेटरमध्ये एक रहेको उल्लेख गर्दै उनको अनुभवले नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान पुग्ने उत्साह व्यक्त गरे।
प्रकाशित: ३ आश्विन २०८३ २०:०७ शनिबार