खेल

५ ओभरमा छोट्टिएको खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। वर्षाले प्रभावित बनेको यो खेल ५–५ ओभरमा खेलाइँदै छ।

वर्षा र ओसिलो मैदान सुकाउन समय लागेका कारण खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो गरी सुरु भएको हो। यसअघि अम्पायरहरूले साँझ ७:४१ बजे खेल सुरु गर्ने निर्णय गरे पनि सुदूरपश्चिमले असहमति जनाएपछि खेल अन्योलमा परेको थियो।

सुदूरपश्चिमले मैदानको अवस्थाका कारण खेलाडीको सुरक्षामा जोखिम रहेको र बाउन्ड्री लाइन छोट्याइएको विषयमा आपत्ति जनाउँदै खेल्न अस्वीकार गरेको थियो।

उक्त विवादपछि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी, म्याच रेफ्री र टोली व्यवस्थापनबीच मैदानमै लामो संवाद भएको थियो। प्राविधिक विषयहरू मिलाउने सहमति जुटेपछि अन्ततः सुदूरपश्चिम मैदान उत्रिन तयार भएको हो।

प्रकाशित: १४ कार्तिक २०८३ २१:१७ शनिबार