खेल

एनपिएल सफल भएकामा आइसिसी अध्यक्षद्वारा क्यानलाई बधाई

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को सफल आयोजना र कार्यान्वयनका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई बधाई दिएका छन्। क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार एक औपचारिक पत्रमार्फत आइसिसी अध्यक्ष शाहले बधाई दिएका हुन्।  

पत्रमा आइसिसी अध्यक्ष शाहले यस वर्षको एनपिएलमा व्यवस्थापन र क्रिकेटको गुणस्तर दुवै पक्षमा उल्लेखनीय मापदण्ड स्थापित भएको उल्लेख गरेका छन्।

पत्रमा उनले नेपालमा क्रिकेटलाई नयाँ उचाइमा पु¥याउन क्यान अध्यक्ष चन्दको नेतृत्व र दृष्टिकोणको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। लिगको सहज सञ्चालन, टिमहरूको उत्साहपूर्ण सहभागिता तथा देशभरका दर्शकहरूबाट प्राप्त व्यापक समर्थन क्यानको मेहनत र समर्पणको प्रमाण भएको शाहको भनाइ छ।

पत्रमा अध्यक्ष शाहले एनपिएललृ ‘उदाउँदै गरेका प्रतिभाहरूका लागि बलियो मञ्च’ प्रदान गरेको पनि उल्लेख गरेका छन्। ‘अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा नेपालको छवि थप सुदृढ बनाएको छ,’ पत्रमा भनिएको छ,‘यसले नेपाल क्रिकेट सही दिशामा अघि बढिरहेको संकेत दिएको छ।’  

पत्रमा शाहले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि क्यानले भविष्यमा लिने सबै पहलहरू सफलताका लागि शुभकामना दिएका छन्।  

प्रकाशित: २८ मंसिर २०८२ २१:०५ आइतबार