खेल

हुसेन र युनिश चम्किँदा कर्णालीको रोमाञ्चक जित, जनकपुर १९ रनले पराजित

बलरहरूको अनुशासित र घातक प्रदर्शनको मद्दतले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित दर्ता गरेको छ।

कर्णालीले प्रस्तुत गरेको १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको डे-नाइट भिडन्तमा कर्णालीका हुसेन तलत र युनिश ठकुरीको बलिङ निर्णायक बन्यो।

तलतले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने युनिशले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट हात पारे। नन्दन यादवले २.३ ओभरमा १३ रन दिएर २ विकेट तथा कप्तान सोमपाल कामीले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिए।

१३३ रनको लक्ष्य पछ्याएको जनकपुरको सुरुवात खराब रह्यो। दोस्रो ओभरमै ओपनर त्रितराज दास १ रनमा सोमपालको बलमा आउट भए भने आक्रामक देखिएका मयान यादवलाई कप्तान सोमपालले नै उत्कृष्ट फिल्डिङमार्फत रनआउट गरे।

त्यसपछि सम्हालिएर खेलिरहेका अनिल साह १७ बलमा ११ रन बनाएर नन्दन यादवको बलमा आउट भए। दशौं ओभरमा हुसेन तलतले अनुभवी मोइन अली (१९ रन) र विष्फोटक ब्याट्सम्यान कुशल परेरा (६ रन) लाई आउट गरेपछि जनकपुर ५७ रन जोड्दा ५ विकेट गुमाएर दबाबमा पर्‍यो।

छैटौं विकेटका लागि कप्तान हरमीत सिंह र जेम्स निसमले टोलीलाई खेलमा फर्काउने प्रयास गरे। हरमीतले १३ बलमा २ चौकासहित १९ रन जोडे। तर, युनिश ठकुरीले १६औं ओभरमा लगातार दुई बलमा निसम र आदित्य महतालाई आउट गर्दै खेल कर्णालीको पकडमा पुर्‍याए।

पुछारमा अभिषेक तिवारीले १७ बलमा २ छक्कासहित सर्वाधिक २० रन बनाएर जितको आशा जगाए पनि १९औं ओभरमा तलतको बलमा क्याच आउट भए। अन्तिम विकेटका रूपमा ललित राजवंशी १ रनमा नन्दन यादवद्वारा बोल्ड भए भने राहुल यादव १ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो। कर्णालीका लागि आरिफुल इस्लामले २९ बलमा ४ छक्कासहित सर्वाधिक ४३ रनको आक्रामक पारी खेले। यस्तै, पवन सर्राफले ३७ बलमा ३ छक्काको मद्दतले ३७ रनको योगदान दिएका थिए।

कर्णालीका अन्य ब्याट्सम्यानमा दीपक डुम्रेले १३, गुल्सन झाले १२ र नन्दन यादवले ९ रन जोडे। मार्क वाट १, हुसेन तलत ३, अकबर अली १ तथा कप्तान सोमपाल कामी १ रनमा आउट भएका थिए।

जनकपुरका लागि बलिङतर्फ कप्तान हरमीत सिंहले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए।

यस्तै, राहुल यादवले ४ ओभरमा १५ रन दिएर २ तथा मोइन अलीले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए। ललित राजवंशीले १ विकेट हात पारेका थिए।

खेलमा अम्पायर हिमाल राज गिरी र दुर्गानाथ सुवेदीको निर्णयमा लिइएका केही डीआरएस रिभ्युले पनि खेलको रोमाञ्चकता बढाएका थिए।

प्रकाशित: १० कार्तिक २०८३ २०:४६ मंगलबार