खेल

हक्की विश्वकप : नेदरल्यान्ड्ससँग भारत ३–१ ले पराजित, सेमिफाइनल यात्रा कठिन

एफआईएच पुरुष हक्की विश्वकपको दोस्रो चरणमा भारत नेदरल्यान्ड्ससँग ३–१ गोलले पराजित भएको छ। शनिबार एम्स्टेलभिनमा भएको खेलमा हारसँगै भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ।

नेदरल्यान्ड्सका लागि डुको टेल्गेनक्याम्प, टजेप हुडेमेकर्स र थाइज भान डामले गोल गरे। भारतका कप्तान हरमनप्रीत सिंहले पेनाल्टी कर्नरमार्फत एक गोल फर्काए।

पहिलो दुई क्वार्टरमा दुवै टोलीले गोलका अवसर बनाउन सकेनन्। तर ४० मिनेटपछि खेलमा तीव्रता बढ्दा टेल्गेनक्याम्पले नेदरल्यान्ड्सलाई अग्रता दिलाए। त्यसको केही मिनेटमै हुडेमेकर्सले गोल थपे।

हरमनप्रीतले पेनाल्टी कर्नरबाट गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरे पनि ५५औँ मिनेटमा भान डामले तेस्रो गोल गरेपछि भारतको पुनरागमन सम्भावना समाप्त भयो।

यस जितसँगै ६ अंक जोडेको नेदरल्यान्ड्स सेमिफाइनलमा पुगेको छ। भारतको सेमिफाइनल सम्भावना भने अब अन्य खेलको नतिजामा समेत निर्भर बनेको छ। भारतले सोमबार अर्जेन्टिनालाई ठूलो अन्तरले हराउनुपर्नेछ।

 

प्रकाशित: ७ भाद्र २०८३ ०९:१६ आइतबार