खेल

हिमालयन र मनाङको फराकिलो जित

हिमालयन शेर्पा र मनाङ मस्याङ्दी क्लबले सोमबारबाट सुचारु भएको एन्फा यु-१६ युथ लिगमा फराकिलो जित निकालेका छन्।

गत भदौमा भएको जेनजी आन्दोलनका कारण प्रभावित भएको एन्फा यु-१६ युथ लिग सोमबारबाट पुनः सुचारु भएको हो। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्समा शेर्पाले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६-० को सानदार जित निकाल्यो। शेर्पाको जितमा विशु सुनुवारले ह्याट्रिक गोल गरे।

किशोर बम, विवेक हमाल र जेनिल सुब्बाको नाममा एक गोल रह्यो। अर्को खेलमा मनाङले त्रिभुवन आर्मी क्लबमाथि ५–० को रबाफिलो जित आतसात् गर्‍यो। मनाङको जितमा प्रकाश सिंहले ह्याट्रिकसहित चार गोल गरे। एक गोल रोहन थापामगरको नाममा रह्यो।

मनाङले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल थप्यो। रोहनले ३५औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। प्रकाशले ४४औं मिनेटमा अग्रता दोब्बर बनाए। यससँगै पहिलो हाफमा मनाङ २-० ले अगाडि रह्यो। तेस्रो गोल निस्कन भने समय लाग्यो। प्रकाशले ७५औं मिनेट र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले ८७औं मिनेटमा पाँचौं गोल गरेपछि मनाङले आर्मीमाथि ५-० को रबाफिलो जित निकाल्यो।

हिमालयन शेर्पाले प्लानिङमाथि जित निकाल्दा दुवै हाफमा समान तीन गोल गर्‍यो। विशुले पहिलो २३ मिनेटभित्र नै तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। उनले १३औं, १४औं र २३औं मिनेटमा गोल गरेका थिए।

त्यसपछि सुरुदेखि नै हिमालयन शेर्पाले प्लानिङमाथि दबाब बनायो तर पहिलो हाफमा थप गोल भएन र शेर्पा ३ -० ले अगाडि रह्यो। दोस्रो हाफको सुरुमै हिमालयन शेर्पाले चौथो गोल गर्‍यो। ४७औं मिनेटमा किशोर बम र ६६औं मिनेटमा विवेक हमालले गोल गरे।

८५औं मिनेटमा जेनिल सुब्बाले गोल गरे। यससँगै हिमालयन शेर्पाले प्लानिङमाथि ६–० को रबाफिलो जित निकाल्यो। सोमबार नै भएको अर्को खेलमा फ्रेन्ड्सले श्री भगवती क्लबमाथि ३–१ को जित निकाल्दै लामो समयपछि सुरु भएको लिगमा सुखद सुरुआत गरेको छ। फ्रेन्ड्सका लागि षडानन्द मास्की मगर, सजिन भोलन तामाङ र सोजन बिकले समान एक गोल गरे।

फ्रेन्ड्सकै इरफान अलीको आत्मघाती गोलबाट श्री भगवतीले अग्रता लिएको थियो। तर, त्यो अग्रता एक मिनेट पनि टिकेन। गत भदौ २३ गते जेनजी आन्दोलनले विकराल रूप लिँदा एन्फाले यो लिगसँगै अन्य गतिविधिहरु अनिश्चितकालका लागि स्थगित गरेको थियो। त्यसपछि असोज ६ गते एन्फाले परिमार्जित क्यालेन्डर सार्वजनिक गर्दै रोकिएको लिग कात्तिक १७ गतेबाट पुनः सुचारु भई मंसिर २ गतेसम्म चल्ने कुरा उल्लेख गरेको थियो तर कात्तिक १६ गते एन्फाले लिग पुनःस्थगित गरिएको जानकारी गराएको थियो। अन्ततः सोमबारबाट लिग सुचारु भएको हो।

प्रकाशित: १ पुस २०८२ ०७:१६ मंगलबार