तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोटर्स क्लब जारी प्रधानमन्त्री कप एनभिए भलिबल लिगको फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरमा बिहीबार भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। कुल आठ टोली सहभागी पुरुषतर्फ लिगमा हेल्प नेपालले छैटौं खेलसम्म अपराजित यात्रा कायमै राख्यो। यससँगै लिगको अंकतालिकाको शीर्ष दुई स्थानमा रहँदै हेल्प नेपालले एक खेलअगावै फाइनलमा स्थान बनायो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुलिसको भने छैटौं खेलमा अपराजित यात्रा रोकिन पुग्यो। यो हारसँगै एक खेलअगावै फाइनलमा पुग्ने पुलिसको लक्ष्य पूरा हुन सकेन। कुल ६ खेल खेलेको हेल्प नेपालले शतप्रतिशत जितसँगै १८ अंक बटुल्यो।
समान खेलबाट पुलिस र रुकुम पश्चिम भलिबल केन्द्रको समान १५ अंक छ। दुवै टोलीले समान एक हार सामना गरेका छन्, जुन हेल्प नेपालसँगै नै हो। पुरुषमा पुलिस र रुकुम पश्चिममध्ये एक टोलीको मात्र फाइनलमा पुग्ने सम्भावना छ। लिगको अन्तिम खेलमा जित निकाले हेल्प नेपालसँग उपाधि भिडन्त हुने टोलीको टुङ्गो लाग्नेछ। अब पुलिस र रुकुम पश्चिम नै लिगको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छन्। त्यसैले पनि एक खेलअगावै हेल्प नेपाल फाइनलमा पुग्न अंक पर्याप्त भएको हो। पहिलो सेट हेल्प नेपालले २५–२२ ले आफ्नो पक्षमा राख्यो। दोस्रो सेट पनि २५–१९ ले आफ्नो पक्षमा राख्दै हेल्प नेपाल सहज जिततर्फ अग्रसर भयो।
तेस्रो सेट भने पुलिसले २५–२३ ले आफ्नो बनाउँदै पुनरागमनको संकेत गर्यो। चौथो सेटमा भने पुलिसले आशातीत प्रदर्शन गर्न सकेन। यो सेट २३–१७ ले आफ्नो बनाउँदै हेल्प नेपालले अपराजित यात्रा कायमै राख्यो। बिहीबार नै कोसी प्रदेश र अर्घाखाँचीको खिल्जी युवा क्लबले पहिलो जित निकालेका छन्। दुवै टोली फाइनल समीकरणबाट बाहिरिसकेका छन्। पहिलो खेलमा कोसीले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा हरायो। बुढानलीकण्ठ २०–२५, २५–१५, २५–१७ र २६–२४ ले पराजित भयो। बुढानीलकण्ठको यो छैटौं हार हो । यससँगै बुढानिलकण्ठ प्रतियोगिताको एक मात्र जितविहीन टोली बनेको छ।
दोस्रो खेलमा खिल्जीले पनि एपिएफमाथि ३–१ को पुनरागमन जित आत्मसात् गर्यो। एपिएफले पहिलो सेट २१–२५ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछिका सेट खिल्जीले २५–२२, २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पार्यो। यससँगै एपिएफको यो पाँचौं हार हो। लिगको अन्तिम दिन पुरुषमा खिल्जी र बुढानीलकण्ठ, एपिएफ र कोसी तथा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ। साथै फाइलनमा पुग्ने दोस्रो टोलीको टुङ्गो रुकुम पश्चिम र पुलिसबिचको खेलबाट लाग्नेछ। महिलातर्फ बुधबार नै फाइनलमा पुग्ने दुवै टोलीको टुङ्गो लागेको थियो।
नेपाल पुलिस क्लब र न्यु डायमन्ड स्पोटर्स क्लब शीर्ष दुई स्थानमा रहँदै फाइनलमा पुगिसकेका छन्। लिगको अन्तिम खेलमा न्यु डायमन्डले पुलिसलाई ३–२ ले हरायो। न्यु डायमण्डले २५–१०, २२–२५, ११–२५, २५–१५ र १५–१३ को रोमाञ्चक सेटमा हराएको हो। यससँगै न्यु डायमन्ड ६ टोली सहभागी लिगमा अपराजित रहँदै फाइनलमा पुग्यो। अब यी दुईबीच शनिबार उपाधि भिडन्त हुनेछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कोर्टमा बिहीबार शिभालीले प्राज्ना मानन्धरलाई ६–० र ६–१ तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे।
प्रकाशित: १८ वैशाख २०८३ ०८:१५ शुक्रबार