खेल

इटहरीमा हर्क साम्पाङ फुटबल प्रतियोगिता सुरु

उद्घाटन खेलमा तरहरा विजयी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नाममा इटहरीमा बिहीबारदेखि सुरु भएको ‘हर्क साम्पाङ फुटबल कप २०८३’ को उद्घाटन खेलमा तरहरा युनाइटेड क्लब विजयी भएको छ । इटहरी वडा नं. ९ स्थित क्षेत्रीय रंगशालामा भएको खेलमा तरहराले मोरङको पथरी–११ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको १४औँ मिनेटमा पथरी–११ का धिरेन क्षेत्रीले आफ्नै पोस्टमा गोल गरेपछि तरहराले अग्रता लिएको थियो । खेलको बाँकी समयमा थप गोल हुन नसकेपछि त्यही आत्मघाती गोल तरहराको जितका लागि निर्णायक बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका तरहराका गोलरक्षक विश्वास चौधरी प्लेयर अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

श्रम संस्कृति पार्टी इटहरी युवा नगर समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका नौ टोली सहभागी छन् । मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा युनाइटेड क्लब तरहरा, पथरी–११, रारा फुटबल क्लब राजारानी धनकुटा, चुलाचुली स्पोर्टिङ क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, ब्रदर्स हुड उदयपुर, रेड हर्स फुटबल क्लब इलाम, केडीएफए खोटाङ र केदार फुटबल क्लब भोजपुर सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक ताजिना विष्टले जानकारी दिइन् । प्रतियोगिताको उद्घाटन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरेका थिए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार हुने खेलमा रारा फुटबल क्लब राजारानी धनकुटा र चुलाचुली स्पोर्टिङ क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: १० मंसिर २०८३ १९:३८ बिहीबार