आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सुरुवाती ८१ रन जोड्दा ५ विकेट गुमाएको छ। २३ ओभर ३ बलको खेल सकिँदा दीपेन्द्र सिंह ऐरी २१ रन बनाएर आउट भएपछि नेपालको आधा टोली पेभेलियन फर्किएको हो।
पाँचौँ विकेटका रूपमा आउट हुनुअघि दीपेन्द्रले ४२ बल खेलेर २१ रन जोडे। उनलाई २२.४ ओभरमा लोगान भान बिकको बलमा दत्तले क्याच आउट गराए। यसअघि टोलीको चौथो विकेटका रूपमा ईशान पाण्डे ४ रन बनाएर एलेक्स रोयको बलमा विकेटकिपर एडवर्ड्सद्वारा क्याच आउट भएका थिए।
सुस्त सुरुवात गरेको नेपालले २५ रनको योगफलमा दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई लगातार दुई बलमा गुमाएको थियो। लगत्तै कप्तान रोहित पौडेल पनि ३ रनमै आउट भएपछि नेपाल लगातार दबाबमा परेको हो।
नेदरल्यान्ड्सका बलर एलेक्स रोयले ८ ओभरमा २४ रन दिएर ३ मुख्य विकेट लिँदै नेपाललाई ठूलो क्षति पुर्याएका छन्। यस्तै काइल क्लेन र लोगान भान बिकले १-१ विकेट लिएका छन्।
हाल क्रिजमा आरिफ शेख १६ रन र गुल्सन झा ५ रन बनाएर खेलिरहेका छन्।
प्रकाशित: ७ श्रावण २०८३ १६:५५ बिहीबार