फिफा विश्वकप २०२६ मा एर्लिङ हालान्डले आफ्नो डेब्यू खेलमै दुई गोल र एक असिस्ट गरेपछि नर्वेले समूह ‘आई’ को खेलमा इराकमाथि ४-१ को सहज जित निकालेको छ।
फ्रान्समा सन् १९९८ को विश्वकप खेलेपछि नर्वेको यो पहिलो विश्वकप उपस्थिति हो, जुन हालान्ड जन्मनुभन्दा दुई वर्ष अघिको कुरा हो। म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डका लागि यो ५६ औँ र ५७ औँ अन्तर्राष्ट्रिय गोल हो। बोस्टन स्टेडियममा बुधबार बिहान भएको खेलको २९ औँ मिनेटमा हालान्डले डेभिड मोलर वोल्फको क्रसलाई बक्सभित्र प्रहार गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। गोलकिपर ओर्जन नाइल्याण्डबाट सुरु भएको यो चाल १४ पास पार गर्दै गोलमा परिणत भएको थियो। तर ३९ औँ मिनेटमा इराकका आयमेन हुसेनले अमिर अल अम्मारीको क्रसमा उत्कृष्ट हेडर गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। यससँगै हुसेन विश्वकपमा गोल गर्ने दोस्रो इराकी खेलाडी बनेका छन्।
हाफटाइम हुनु ठीक अगाडि ४३ औँ मिनेटमा इराकका डिफेन्डर जैद तहसीन र गोलकिपर जलाल हसनबीचको खराब तालमेलको फाइदा उठाउँदै हालान्डले नर्वेलाई पुनः २-१ को अग्रता दिलाए। गोलकिपर हसनले दिएको खराब ब्याक पासलाई नियन्त्रणमा लिँदै हालान्डले आफ्नो शिन (पिँडुलाको अघिल्लो भाग) प्रयोग गरेर बललाई जाली चुमाए।
दोस्रो हाफको ७६ औँ मिनेटमा मार्टिन ओडेगार्डको कर्नर किकमा लियो। अनि ओस्टिगार्डले उत्कृष्ट हेडर गोल गर्दै नर्वेको अग्रता ३-१ बनाए। खेलको अन्तिम समय (९०+६ मिनेट) मा हालान्डको पासमा क्रिस्टियन थोर्स्टभेड्टले प्रहार गरेको बल इराकका हुसेनलाई लाग्दै आत्मघाती गोलमा परिणत भएपछि नर्वेले ४-१ को फराकिलो जित पक्का गर्यो। यो जितसँगै नर्वे समूह ‘आई’ को शीर्ष स्थानमा उक्लिएको छ। खेलमा दुई गोल गरेका हालान्ड ‘प्लेयर अफ द म्याच’ चुनिए।
खेलपछि प्रतिक्रिया दिँदै हालान्डले भने, ‘मेरो पहिलो गोल राम्रो थियो, दोस्रो अझ राम्रो थियो। यो शानदार छ र हामीले राम्रो सुरुवात गर्न सकेकोमा म सबैप्रति गर्व गर्छु। यद्यपि हामीलाई थाहा छ कि आगामी खेलहरू अझ कठिन हुनेछन् र हामीले अझ राम्रो खेल्नुपर्छ। हामीले जित्ने अपेक्षा गरिएको थियो र भाग्यवश जित्यौँ। अब नर्वेमा सबैजना खुसी हुनेछन् र मलाई आशा छ कि मानिसहरूले उत्सव मनाउनेछन्!’
प्रकाशित: ३ असार २०८३ ०६:३४ बुधबार