बेलायत डेविस कप फाइनल्समा पुगेको छ। लन्डनस्थित कपर बक्स एरिनामा भएको छनोटमा इक्वेडरलाई ४-० ले पराजित गर्दै बेलायतले सन् २०२३ पछि पहिलोपटक डेविस कपको अन्तिम आठमा स्थान बनाएको हो।
हेन्री प्याटन र नील स्कुप्स्कीको जोडीले गोनजालो एस्कोबार र डिएगो इडाल्गोलाई ६-३, ६-४ ले पराजित गरेपछि बेलायतले नोभेम्बरमा बोलोन्यामा हुने ‘फाइनल ८’ को यात्रा पक्का गरेको हो। उक्त जितसँगै बेलायतले पाँच खेलको भिडन्तमा ३-० को निर्णायक अग्रता बनाएको थियो।
त्यसअघि शनिबार टोबी स्यामुएल र आर्थर फेरीले एकल खेल जित्दै बेलायतलाई बलियो सुरुआत दिलाएका थिए। स्यामुएलले एन्ड्रेस एन्ड्राडेलाई ४-६, ६-४, ६-१ ले पराजित गरे। पहिलो सेट गुमाएका उनले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै आफ्नो डेविस कप डेब्युमा जित हात पारे।
फेरीले पनि अल्भारो गुइलेन मेजालाई ७-५, ६-० ले हराए। यो उनको डेविस कपमा दोस्रो सहभागिता थियो।
त्यसपछि आइतबार ह्यारी वेन्डेल्केनले एन्जेल भेलिजलाई ६-२, ६-३ ले पराजित गर्दै बेलायतलाई ४-० को जित दिलाए। क्यामरन नोरीले शुक्रबार चोटका कारण टोलीबाट नाम फिर्ता लिएपछि अन्तिम समयमा वेन्डेल्केनलाई टोलीमा समावेश गरिएको थियो। उनले प्रतियोगितामा आफ्नो डेब्यु खेलमै जित हात पारे।
बेलायतका कप्तान लियोन स्मिथले लामो समयपछि फाइनल्समा फर्किन पाउनु टोलीका लागि महत्वपूर्ण भएको बताए। बेलायत सन् २०२३ मा अन्तिम आठमा पुगेको थियो, जहाँ नोभाक जोकोभिचको सर्बियासँग २-० ले पराजित भएको थियो।
इक्वेडरविरुद्धको खेलमा प्याटन र स्कुप्स्कीको जोडीले पनि प्रभावशाली प्रदर्शन गर्यो। विश्व नम्बर एक प्याटन र हालै यूएस ओपन जितेका स्कुप्स्कीले एकपटक पनि आफ्नो सर्भिस गुमाउने अवस्थामा पुग्न दिएनन्। बेलायतले यसपटक छनोटमा अपेक्षाकृत अनुभवहीन टोली उतारेको थियो। ज्याक ड्रेपरले सिजन चाँडै समाप्त गरेका थिए भने जान चोइन्स्की र ज्याकब फर्न्ली चोटका कारण उपलब्ध थिएनन्। नोरी पनि अन्तिम समयमा बाहिरिएपछि दबाब बढेको थियो।
तर स्यामुएल र फेरीले एकलमा जित निकाल्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। यससँगै बेलायतले नोभेम्बरमा इटालीको बोलोन्यामा हुने डेविस कपको ‘फाइनल ८’ मा स्थान पक्का गरेको छ।
प्रकाशित: ५ आश्विन २०८३ ११:१५ सोमबार