खेल

विश्वकपको भव्य उद्घाटन : संसार एक हुने ३९ दिन, प्रतिस्पर्धामा ४८ देश

तस्बिर : एपीबाट

झन्डै एक शताब्दी इतिहास बोकेको लोकप्रिय र बहुप्रतीक्षित फिफा विश्वकप (२०२६) अन्तत: एक भव्य समारोहबिच बिहीबार औपचारिक रूपमा सुरु भएको छ। पहिलोपल्ट तीन देश (अमेरिका, मेक्सिको र क्यानडा) आयोजना रहेका कीर्तिमानी फिफा विश्वकप (२३औं संस्करण) मेक्सिको सिटीमा भव्य सामारोहबिच सुरु भएको हो।

करिब ८० हजार दर्शकमाझ मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा उक्त समारोहको साक्षी बन्यो, जहाँ यसअघि तीन वटा विश्वकप फाइनल पनि भइसकेका छन्। भव्य समारोहले दर्शकको ध्यान आकर्षित गर्‍यो र सबैभन्दा आकर्षणको केन्द्र कोलम्बियाकी चर्चित गायिका साकिरा बनिन्। उनीसहित दक्षिण कोरियाका कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिए। आकर्षक प्रकाश, संगीत र सांस्कृतिक झाँकीहरूका कारण एज्टेका रंगशाला उत्सवमय बन्यो। उक्त समारोहमा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया र सेइनबउम र फिफाका जियानी इनफान्टिनो सहभागी भए।

उद्घाटन खेलको नवौं मिनेटमा जुलियन किनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। उत्सवसँगै उक्त गोलपछि एज्टेका रंगशाला गुन्जयमान बन्यो। उक्त खेल मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्‍यो। यस खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्डको सामना गरे। विश्वकपको सुरुआतसँगै ४८ टोली सहभागी विश्वकपको यात्रा सुरु भएको छ, जुन झन्डै ६ सातासम्म चल्ने छ।

कोलम्बियाकी विश्वप्रसिद्ध गायिका साकिरा र नाइजेरियाली गायक बर्ना ब्वायले विश्वकपको आधिकारिक गीत ‘दाइ दाइ’ प्रस्तुत गरेपछि दर्शकले निकै मनोरञ्जन लिए। यद्यपि रंगशालाबाहिर केही तनावपूर्ण दृश्य पनि देखिए। मेक्सिको सिटीको केन्द्रमा रहेको आधिकारिक फ्यान जोनमा प्रवेश गर्न खोज्ने समर्थकबिच धकेलाधकेल र सामान्य झडप नै भयो। उद्घाटनसँगै विश्वभरका फुटबल समर्थकको ध्यान मेक्सिको सिटीमा केन्द्रित भएको छ। यस संस्करणको विश्वकप इतिहासकै सबैभन्दा ठुलो मानिएको छ।

विश्वकप २०२६ आगामी ३९ दिनसम्म सञ्चालन हुने छ। जहाँ विश्व फुटबलका उत्कृष्ट टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। अहिलेसम्म आठ राष्ट्रले विश्वकप उपाधि उचालेका छन्। सर्वाधिक विश्वकप विजेता (पाँचपल्ट) ब्राजिल हो। उरुग्वेमा सन् १९३० मा १३ राष्ट्रबाट सुरु भएको विश्वकपको यात्रा अहिले ४८ राष्ट्रसम्म आइपुगेको छ। 

सन् १९९८ देखि पछिल्ला सात संस्करणमा ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गरे। जतिबेला कुल ६४ मात्र हुन्थे। कीर्तिमानी १०४ खेल, ४८ राष्ट्र, एक हजार २४८ खेलाडी १६ आयोजक सहरमा आयोजना ३९ दिने विश्वकपको विशेषता हो। यस विश्वकपबाट कुल १३ अर्ब अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ। यो अहिलेसम्मकै कीर्तिमानी राजस्व हुने छ।

मेक्सिकोबाट सुरु भएर जुलाई १९ तारिखमा न्युयोर्कमा समापन हुने कार्यक्रम छ। तीन वटै आयोजक राष्ट्रमा हुने विशेष उद्घाटन समारोह भए। यसपटकको विश्वकप उद्घाटन समारोह एउटै सहरमा सीमित रहेन।

मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा एउटै साझा अवधारणामा उद्घाटन समारोह भए। यो संस्करण आकर्षक नयाँ ढाँचा र नयाँ राष्ट्रहरू मात्र सीमित छैन। पुस्तान्तरणको कथा पनि विश्व देखिँदै छ। दुई दशकदेखि विश्व फुटबलमा छाएकाहरूको अन्तिम विश्वकप बन्दै छन्। केही युवा यही विश्वकपबाट लिजेन्डको उदीयको दाबेदार दिने सँघारमा छन्।

लिजेन्ड क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँगै नेइमारको अन्तिम विश्वकप बन्न सक्छ। अन्तिम पटक विश्वकप मञ्चमा यी स्टारका जादुमयी कलाको प्रतीक्षामा समर्थक छन्। करिब दुई दशकदेखि विश्व फुटबलमा राज गरेका महान् खेलाडी रोनाल्डो र मेसीका लागि यो अन्तिम विश्वकप हुन सक्छ। जर्मनीका मिरोस्लाभ क्लोजको नाममा १६ गोलको विश्वकप कीर्तिमान छ।

मेसी १३ गोल र फ्रान्सका किलियन एमबाप्पे १२ गोलसहित उनलाई पछ्याइरहेका छन्। २७ वर्षे एमबाप्पे विश्वकप कीर्तिमानधारी बन्न सक्छन्। विश्वकपमा सहभागिता बढाउने निर्णय गर्दा धेरैले फिफाको आलोचना गरे। कतिपयले गुणस्तर घट्ने अनुमान गरे भने केहीको चिन्ता खेलाडीमाथि थप भार पर्ने थियो। फिफाको दृष्टिकोण भने फरक रह्यो। फिफाकै अडानका कारण केप भेर्डे, कुरेसाओ, उज्बेकिस्तान र जोर्डनलगायत राष्ट्रले पहिलोपल्ट विश्वकप खेल्दै छन्।

मैदानभित्रको खेल सुरु हुनु सम्भवत: फिफाका लागि राहतको विषय बनेको छ। अत्यधिक टिकट मूल्यका कारण फिफाले तीव्र आलोचना खेप्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कडा अध्यागमन नीतिका कारण सोमालियाका रेफ्री, इरानी टोलीका अधिकारीहरू र केही समर्थकलाई अर्को सहआयोजक अमेरिका प्रवेश दिइएन।

मियामी पुगेपछि अमेरिकी प्रशासनले प्रवेश अस्वीकार गरेपछि ओमार आर्टानले विश्वकपमा निर्णायक बन्ने पहिलो सोमालियाका नागरिक बन्ने अवसर गुमाए। यद्यपि यो इतिहासिक विश्वकपले युरोप र दक्षिण अमेरिकामा मात्र फुटबल सीमित छैन भन्ने सन्देश दिने अपेक्षा छ।

तस्बिर : एपीबाट

प्रकाशित: २९ जेष्ठ २०८३ ०६:५७ शुक्रबार