खेल

इटहरी कराते एकेडेमीलाई स्वर्ण पदक

सुनसरीको इटहरीमा सञ्चालित इटहरी कराते एकेडेमीका खेलाडीहरुले झापाको मेचीनगर नगरपालिकामा सञ्चालित दोस्रो मेचीनगर खुल्ला कराते च्याम्पियनसिपमा १७ स्वर्ण पदक जित्न सफल भएको छ ।  

प्रतियोगितामा सात रजत र १६ कास्य पदक जितेर उत्कृष्टता हासिल गरि टिम प्रथम भएको छ । कोशी प्रदेश स्तरीय खेलमा जम्मा १४ टिमहरुको सहभागिता थियो । जसमा इटहरी कराते एकेडेमीले सबैभन्दा बढी स्वर्ण पदक जितेर प्रथम भएको हो । स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा रोनक अग्रवाल, रेहन चौधरी, टाँसी तामाड, समिर राई, योसन बुढाथोकी, सुदीप दर्जी, सुशिल लिम्बू, अर्दुज महलदार, साङ्हाङ् लिम्बू, खेमराज खत्री, रियन थापा, अष्टिन उप्रेती, अभयकुमार शाह, वर्षा सुवेदी, कृष परियार, एन्जल श्रेष्ठ, शिल्पा श्रेष्ठ, अनुजा चौधरी र अर्शु खनाल रहेका छन् । उनीहरुले २० केजीदेखि ६० केजी तौल समूह सम्ममा प्रतिष्पर्धा गरेका थिए ।

यसअघि इटहरी कराते एकेडेमीका खेलाडीहरुले बंगलादेशको राजधानी ढाकामा दक्षिण एशिया स्तरीय छैठौं अन्तर्राष्ट्रिय खुल्ला कराते च्याम्पियनसिपमा सातवटा स्वर्ण पदक जितेका थिए ।  

कुमुते (फाइट) प्रतियोगितामा  नेपालबाट सहभागी भएका नौं जनामध्ये सात जनाले स्वर्ण पदक हात परेका थिए भने दुई जनाले रजत उपाधि हात परेका थिए । छ वटा देशको सहभागिता रहेको उक्त खेलमा जापान, भारत, भुटान, श्रीलंका, बंगलादेश र नेपालको सहभागिता रहेको थियो ।

बंगलादेश अघि थाइल्याण्डमा भएको कुमुतेमै इटहरीबाट सहभागी भएका विन्दा तामाङ् र आशिष हरिजनले कास्य पदक जितेका थिए । त्यतिबेला विश्वका ३० देशका प्रतिस्पर्धी सहभागी भएका थिए ।  

इटहरीमा २०७५ सालदेखि कराते प्रशिक्षण गराउँदै आएका अन्तर्राष्ट्रिय कोच तथा राष्ट्रिय रेफ्री सागर राउतले खेलाडीहरुलाई प्रशिक्षण दिर्दै आएका छन् । उनकै कडा मेहनत र बन्द प्रशिक्षण मार्फत उत्कृष्ट खेलाडीहरु तयार भएको जानकारी दिइयो ।  

यसैबीच, इटहरी रंगशालामा रहेको कराते प्रशिक्षण हलमा बिजुली बत्तिको व्यवस्था वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र थापाले गरेका छन् । जसले गर्दा साँझ समेत स्कुले विद्यार्थीलाई कराते खेल्ने सहज भएको छ । 

प्रकाशित: ८ मंसिर २०८२ १९:२८ सोमबार