नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको आगामी टी-२० सिरिज जित्ने लक्ष्यका साथ टोली मैदान उत्रिने बताएका छन्।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा संचारकर्मीसँग कुराकानी गर्दै कप्तान पौडेलले टोली वेस्ट इन्डिजविरुद्ध खेल्न निकै उत्साहित रहेको सुनाए।
उनले यसअघि भएको सिरिजमा व्यहोरेको हारको बदला लिने अवसरको रूपमा समेत यसलाई लिएको संकेत गरे।
‘वेस्ट इन्डिजविरुद्ध खेल्न टोली एकदमै उत्साहित छ, हामीले यसअघि वेस्ट इन्डिजविरुद्ध खेलेको सिरिजमा हार व्यहोरेका थियौं,’ कप्तान पौडेलले भने, ‘यसपटक हामी सिरिज जित्ने लक्ष्यमा छौं।’
नेपाल र वेस्ट इन्डिज बीच संयुक्त अरब इमिरेट्स (यूएई) मा तीन खेलको टी-२० सिरिज हुँदैछ। यो सिरिजले विश्वकप छनोटका लागि नेपाली टोलीको तयारीलाई अन्तिम रूप दिने विश्वास लिइएको छ।
विश्वकप छनोटअघिको अन्तिम अभ्यासको रूपमा रहेको यो सिरिजलाई नेपालले महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ।
प्रकाशित: २ आश्विन २०८२ १८:४६ बिहीबार