पाकिस्तान क्रिकेट टोलीका पूर्वप्रशिक्षक जेसन जिलेस्पीले राष्ट्रिय टोलीको पछिल्लो अवस्थाका लागि चयनकर्ताका अध्यक्ष आकिब जावेदलाई जिम्मेवार ठहराउँदै आफूले गरेका निर्णयबारे पहिले आफैँलाई हेर्नुपर्ने बताएका छन्।
पाकिस्तानले इंग्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलामा लगातार दुई हार बेहोरेपछि मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुललाई हटाउनुका साथै सात खेलाडीलाई घर फर्काएको छ।
जिलेस्पीले टोली व्यवस्थापनको अस्थिरताले खेलाडीहरू डर र दबाबमा खेलिरहेको देखिएको बताए।
सन् २०२४ मा करिब आठ महिना पाकिस्तानको प्रशिक्षक रहेका जिलेस्पीले चयन प्रक्रियामा स्पष्ट रणनीति नरहेको आरोप लगाउँदै निर्णयहरू बारम्बार परिवर्तन भइरहेको बताए।
उनले पहिलो टेस्टमा कप्तानी गरेका सलमान अली आगालाई दोस्रो टेस्टमा टोलीबाट हटाएर तेस्रो टेस्टअघि घर फर्काइएको घटनाप्रति पनि प्रश्न उठाए।
जावेदले आफू र पाकिस्तानका पूर्व सेतो बल प्रशिक्षक ग्यारी कस्र्टनलाई टोलीको समस्याका लागि दोष दिएको भन्दै जिलेस्पीले त्यसप्रति आपत्ति जनाए।
‘आकिब जावेदले आफूलाई ऐनामा हेर्न आवश्यक छ। उहाँ दुई वर्षदेखि चयनकर्ताका अध्यक्ष हुनुहुन्छ, हामी त्यहाँ नभएको समयमा भएका समस्याको दोष हामीमाथि लगाउनु उचित होइन’, उनले भने।
जिलेस्पीले चयनकर्ताको नेतृत्व र खेलाडीबीच संवादको अभाव रहेको दाबी गर्दै टोलीबाट हटाइएका खेलाडीले आफ्नो अवस्थाबारे परिवार, साथी वा सञ्चारमाध्यमबाट मात्र थाहा पाउनु अपमानजनक भएको बताए।
इंग्ल्यान्डले पहिलो दुई टेस्टमा पाकिस्तानलाई हेडिङ्लेमा एक इनिङ्स र १०३ रन तथा लड्र्समा १९४ रनले पराजित गरेको छ।
तेस्रो तथा अन्तिम टेस्ट सेप्टेम्बर ९ देखि एजबस्टनमा सुरु हुनेछ। पाकिस्तानले बाँकी भ्रमणका लागि न्युजिल्यान्डका माइक हेसनलाई मुख्य प्रशिक्षक र अस्ट्रेलियाका एशले नोफ्केलाई बलिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ।
प्रकाशित: १९ भाद्र २०८३ १५:५५ शुक्रबार